प्रारम्भ
“मानवता हराउँदै गएको यथार्थदेखि मानवीय संवेदना, नैतिक मूल्य एवम् आदर्शमा आएको ह्रासप्रति कवितामा गहिरो चिन्ता र आक्रोश पाइन्छ ।”
माथि उल्लिखित विचार ‘आकाश खुल्दैछ’ (कविता सङ्ग्रह–२०७७)को भूमिकामा समालोचक एवम् कवि अमर गिरीको हो । कविता सङ्ग्रहका रचनाकार हुन्, आकाश अधिकारी (२०३३, तनहुँ) । नेपाली साहित्य, संस्कृतिमा मात्र नभएर पत्रकारितामा समेत योगदान दिएका बहुप्रतिभाका धनी व्यक्तित्व अधिकारीको पछिल्लो प्रकाशित कविता सङ्ग्रह हो ‘आकाश खुल्दैछ’ । कविता सङ्ग्रहको शीर्षकले नै कविको लेखन यात्रा र स्वभावलाई चिनाउन खोजेजस्तो लाग्छ । आशाको यात्रामा कवि आकाश अधिकारी आकाश खुल्दैछ भन्ने सङ्केत समेत गरेका छन् ।
‘आकाश खुल्दैछ’ कविता सङ्ग्रहभित्र जम्मा ४५ ओटा कविताहरु सङ्कलित रहेका छन् । सबै छोटा कविता हुन् र गद्यशैलीका । कुनै एक पेजमा अटेका छन् कुनै–कुनै दुई वा तीन पेज लामा पनि छन् । कथ्यलाई राम्ररी बुझाउन लामो आयाम पनि नचाहिने कुरा उनको कविता सङ्ग्रहबाट पनि प्रष्ट पार्न सकिन्छ ।
आडम्बरी शासक, निमुखा रैती
र निर्देशित राज्य, कसरी स्वतन्त्र हुन सक्छ ?
होस पु¥याउनु महोदय,
साँच्चिकै मान्छेहरु क्रूर शासकभन्दा
हजारौं गुणा चलाख छन्
आस्थाको आयामभन्दा
दुई कदम अगाडि नै छन् । (आस्थाको आयाम, पृ. ७६)
कविले आलोचना उमारेका छन् । साहस बोलेका छन् र जनता सचेत भएको सन्देश प्रवाह गरेका छन् । सत्ताको स्वभाव दमनकारी हुन्छ । चेतना फैलाउनेहरु अध्ययनशील मात्र होइन चेतनशील पनि हुनु पर्नेतर्फ उनको सोचाइ सोझिएको छ । कविता सङ्ग्रहभित्रका प्रत्येक कवितामा कतै न कतै राजनीति चेत बोलेको छ । अमनचयनमा रमाउनेहरु जनताका असल प्रतिनिधि होइनन् भन्ने दृष्टिकोण प्रस्तुत गरिएको छ । त्यतिमात्र नभएर राजनीतिका नाममा व्यापार अझ कालोधन्दा गर्नेहरुप्रतिको उनको ‘आक्रोश’ कविता सङ्ग्रहभित्र राम्ररी देख्न सकिन्छ । कवि लागेको लेख्छन् । लेखनलाई आक्रोश पोख्ने माध्यम मात्र पनि बनाएका छन् कतै कतै त । त्यो भने पाठकलाई नमिठो लाग्न पुग्छ ।
कतै कवि फूल बनेर त कतै पुतली बनेर रमाइरहेका छन् । उनी प्रकृतिका पूजक मात्र होइन प्रकृतिमा रमाउने एउटा मनोहारी पात्र समेत बन्न चाहेका छन् ।
म फुल्छु रमाउँछन् नानीहरु
म फुल्छु झुम्मिन्छन् पुतलीहरु
म फैलाउँछु सुवास मगमगाउँछन् गाउँबस्ती (फूलको प्रश्न, पृ. ४३)
कविले आफूलाई लागेको लेख्ने क्रममा कहिले प्रकृतिलाई एउटा ढङ्गले कहिले अलि असहज ढङ्गले मात्र चित्रण गरेका छैनन् उनले त आफ्नै हेर्न कोण समेत अनेकानेक प्रस्तुत गर्न भ्याएका छन् । कवि किन विकृति र विसङ्गतिको बर्णन गर्न रमाइरहेका छन् अनि आफू कमजोर हुने पङ्तिहरु हालिरहेका छन् बुझ्न गाह्रो पर्दैछ । ‘बिचित्र चित्र’ त्यस्तै स्वभावको प्रदर्शन गर्ने कविता हो । कतै आशैआश प्रस्तुत गर्न सफल अधिकारी कतै निराशा बाढ्न पो खोज्छन् तस
हिमाल, पहाड र तराईमा
मखमली, सयपत्री र लालीगुराँस फूलसँगै
विचारमा रौनक छाएको छ
परेवाले फूल कोरल्न थालेपछि
स्वाभिमानको भ¥याङ टेकेर
भर्खर हो सगरमाथा उठेको । (सुनौलो बिहानी, पृ. ६०)
कविता लेखनको मिति कतै देखिँदैन तथापि धेरै कविताले समकालीन सन्दर्भलाई राम्ररी उठाउन खोजेको छ । जीवन र जगत्बाट केही न केही ज्ञान सिक्दै मानव जीवनलाई ऊर्जाशील बनाउन सकेमात्र हाम्रो यात्रा सबल हुन्छ भन्ने विश्लेषण कविताहरुको अध्ययनबाट निकाल्न सकिन्छ । कविताहरु बैदेशिक रोजगारीको यात्रामा बाध्यतामा निस्किएको मात्र कुरा गर्दैनन् । मान्छे आफ्नो देश र आफ्नो गाउँमा बस्न चाहँदा चाहँदै पनि बस्न नपाएको पीडा यहाँ पोखिएको छ । ‘बाध्यता’ शीर्षकको कविताले त्यो पीडालाई प्रष्ट ढङ्गले बोल्न चाहेको देखिन्छ ।
बाध्यताको पहिरोले
पुरिएपछि जिन्दगी
बाँझै छोडेर पखेरोबारी
निस्कियो ऊ
उता मरुभूमि खोतल्न (बाध्यता, पृ. ८१)
लाखौं युवा विदेशमा छन् । देश मरुभूमि प्रायः हुन खोजेको छ । देश रोजगारी, स्वास्थ्य र बाँच्न पाउने हकको संविधान जारी गरेर पनि शक्ति र सत्तामै अल्झिएको छ । खै कस्तो अनौठो स्थिति छ यो मुलुकको दिनदिनै स्थिति कमजोर बन्दैछ । यहाँ चिन्ता र चासो मात्र छैन यसको अन्त्य गर्न लाग्नु पर्ने भाव धारा पनि प्रस्तुत गरिएको छ । नेपाल अर्काका लागि कामदार जन्माउने देश जस्तो हुने भयो भन्ने चिन्ताले कवि यो कवितामा मौलिक योजना र सचेतता अपनाउन आग्रह गर्दछन् ।
नेपालको शिक्षा र संस्कृतिको स्थिति के छ भन्ने झल्काउन कवि आकाश अधिकारी सफल भएका छन् । ‘शहरी बच्चाहरु’ शीर्षकको कवितामा कविले आदिकवि भानुभक्तको घरमा पुगेका शहरी बालबालिकाको अनौठो र हामीले इतिहासको चेत दिन नसकेको स्वीकार समेत गरेका छन् । भग्नावशेष भानुभक्तको घरको फोटो खिच्नेहरु नेपाली साहित्य संस्कृतिको ज्ञानबाट दीक्षित हुन सके मात्र अभाव र असजिलोपन हट्न सक्ने आशय यहाँ प्रकट भएको छ ।
भत्किएको घर
असरल्ल छन् डाँडाभाटाहरु
मक्किएको धुरी खाँबो
बाछिटाले पखालेको लिउन् । (शहरी बच्चाहरु, पृ. ८२)
कविता सङ्ग्रह भित्र एउटै विचार एउटै विषय वा एउटै शैलीका कविता भने पक्कै छैनन् । सङ्ग्रह भित्रका कविताहरुले कतै रहर बोल्छन्, कतै बाध्यता त कतै पछौटे अर्थतन्त्रका सजीव चित्र उतार्न सफल भएका छन् । त्यसैक्रममा विविध सुन्दर चित्रहरु जस्तै लाग्ने काव्यात्मक हरफहरु एकपछि अर्को तँछाडमछाड गरी उपस्थित भएका छन् ।
गर्भमै लात्ती हान्दै विद्रोह गर्छ
जिन्दगी जिउने चाहना बोकेर
जब चहार्दै हिँड्छ
देश अनि महादेशहरु
मदिरामा मातेर ग्रह–उपग्रह चहार्दै
सुनौला सपना आँखामा साँचेर
ज्वारभाटाझैँ उर्लेर
मेरा रहर । (रहर, पृ. ३४)
मान्छेका लागि मुख्य कुरा स्वतन्त्रता हो । स्वतन्त्रतासहित गाँस, बाँस, कपासको आवश्यकता छ । त्यसकै निम्ति मान्छे कुदिरहेकै छ । यात्रा निरन्तर अगाडि बढ्छ । मान्छेका रहर पूरा हुनेवाला पनि छैनन् । आधारभूत आवश्यकता पूरा गर्न राज्यले गर्नुपर्ने भूमिका त खै कतै पो देखिन्न भन्ने प्रश्न कविको छ । कवि विगतमा देशको व्यवस्था र अवस्था बदल्न गरिएका ठूलाठूला आन्दोलनहरुलाई सम्झिदै ती आन्दोलनमा शाहदत प्राप्त गर्नेहरुप्रति श्रद्धाभाव समेत व्यक्त गर्न चुक्दैनन् । आमूल परिवर्तनका निम्ति जीवन दिनेहरुले सोचेको वा चाहेको यही हो र १ प्रश्नमाथि प्रश्न उठाइरहेका छन् उनी ।
जहाँ सपनाको लिलामी हुन्छ
अस्तित्व रक्षार्थ बलिदान दिन
बेचैनी बोकेर छातीमा
हजारौ माइल हिँड्नुपर्छ विना बैशाखी । (आगो ओकल्दै, पृ. ३५)
कवि अन्ततः समाजलाई परिवर्तनका निम्ति चेतना फैल्याउने ज्ञात–अज्ञात सहिदहरुको रगत र हजारौं योद्धाहरुको सम्झनामा समर्पित गर्छन् आफ्ना कविताहरु । जीवनलाई उज्यालो बनाउन विगतका अनुभव र योगदानलाई लिने र स्वार्थ कुण्ठा हटाउन प्रत्येकले पहल लिनु पर्ने वैचारिक भाव धारा उनको कविता लेखनको चुरो रहेको छ । सङ्ग्रह सानो छ । कविता थोरै होइनन् अनि विचारमा विविधता पनि छ । जीवनका आशा रुपी आकाश खुल्नै पर्ने स्थिति छ । त्यस कार्यका लागि निरन्तर सक्रिय हुनैपर्छ उनको ‘आकाश खुल्दैछ’ कविता सङ्ग्रहको निष्कर्ष हो ।