×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

अर्थ/वाणिज्य

चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा, यसपालि खसीबोका र च्याङ्ग्रा नबेच्ने

चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा, यसपालि खसीबोका र च्याङ्ग्रा नबेच्ने

काठमाडौं । नजिकिँदै गरेका चाडपर्वहरू दसैं, तिहार र छठलाई लक्षित गर्दै सरकारी स्वामित्वका संस्थानहरूले उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तुको बिक्री वितरण सुरु गरेका छन् ।

साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले देशका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका छन् । तर, बजारको मूल्य नियन्त्रण गर्न हरेक वर्ष दसैंमा सहुलियत दरमा खसी, बोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको सरकारले यस वर्ष भने चौपायाको बिक्री नगर्ने भएको छ ।

साल्ट ट्रेडिङको ४५ स्थानबाट छुटसहितको सेवा

साल्ट ट्रेडिङ कर्पोरेसनले १ असोजदेखि नै उपत्यकासहित देशभरि ३८ वटा बिक्री केन्द्रमार्फत सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ । काठमाडौं उपत्यकामा १३ वटा स्टल र ३ वटा घुम्ती सेवा (मोबाइल भ्यान) तथा उपत्यकाबाहिर २५ वटा स्थानबाट उपभोक्तालाई छुटसहितको खाद्यान्न उपलब्ध गराइँदैछ ।

कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीका अनुसार उपभोक्ताले चिनीमा प्रतिकेजी ५ रुपैयाँ, नुनमा २ रुपैयाँ तथा खानेतेल, चामल, चिउरा, पिठो लगायतका वस्तुमा प्रतिकेजी ७ रुपैयाँ छुट पाउनेछन् । सहुलियत पसलमा चिनी प्रतिव्यक्ति दुई किलोका दरले प्रतिकिलो १०० रुपैयाँमा खरिद गर्न सकिनेछ ।

‘विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि हामीले १ असोजदेखि नै कात्तिक मसान्त (छठपर्व) सम्मका लागि सुपथ मूल्य पसल सुरु गरिसकेका छौँ,’ सूचना अधिकारी राजभण्डारीले भने, ‘अहिले उपत्यकामा हाम्रा आफ्नै काउन्टरहरूमार्फत बिक्री भइरहेको छ भने माग भएका अन्य स्थानमा ३ वटा भ्यानमार्फत सामान पुर्‍याउने व्यवस्था मिलाएका छौँ, उपभोक्ताको भीडभाड सामान्य छ, आवश्यकताअनुसार सार्वजनिक बिदाको दिनमा समेत काउन्टर खुल्ला राख्ने हाम्रो तयारी छ ।’

खाद्य कम्पनीको ४४ जिल्लामा छुट, खसीबोका र च्याङ्ग्रा भने नबेच्ने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि उपभोक्तालाई वर्षैभरि सहुलियत दिने उद्देश्यले साउनको अन्तिम सातादेखि नै सुपथ मूल्य पसल सञ्चालन गरिरहेको छ ।

सरकारको ३ करोड ५० लाख रुपैयाँ स्वीकृत बजेटमा कम्पनीले २६ दुर्गम जिल्लासहित ४४ जिल्लाका प्रादेशिक कार्यालय, मुख्य शाखा कार्यालय, शाखा कार्यालय र डिपो कार्यालयबाट सहुलियत पसल चलाइरहेको हो ।

कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार कम्पनीले चामल, दाल, तेल, चिनी, गेडागुडीका साथै चिनो, कागुनो, फापर जस्ता स्थानीय रैथाने बालीमा समेत प्रतिकिलो र प्रतिलिटर ५ रुपैयाँ छुट दिएर बिक्री वितरण गरिरहेको छ । २८ साउनबाट सुरु भएको यो सहुलियत पसल स्थानीय पालिकासँगको समन्वयमा सञ्चालन भइरहेको छ ।

खाद्यान्नमा उपभोक्तालाई राहत दिए पनि यस वर्ष कम्पनीले दशैंमा सहुलियतका खसी–बोका र च्याङ्ग्रा भने बिक्री नगर्ने भएको छ । हरेक वर्ष चाडपर्वमा मासुको अस्वाभाविक मूल्यवृद्धि रोक्न सहुलियतका चौपाया ल्याउने कम्पनीले यसपटक बजेट अभावको कारण देखाएको छ ।

‘दैनिक उपभोग्य खाद्यान्न तथा रैथाने बालीहरूमा हामीले देशभरिका बिक्री केन्द्रबाट छुटसहितको सेवा दिइरहेका छौँ,’ खाद्य कम्पनीका सूचना अधिकारी मिश्रले भने, ‘तर, यस वर्ष खसीबोका र च्याङ्ग्रा खरिदका लागि बजेट नै विनियोजन नभएका कारण हामीले उपत्यकामा सहुलियतका चौपाया नल्याउने निर्णय गरेका हौँ ।’

गत वर्ष कम्पनीले अनलाइनबाट समेत खसीबोका र च्याङ्ग्रा बिक्रीका लागि बुकिङ खुला गरेको थियो । निरन्तर वर्षाका कारण बाटो अवरुद्ध हुँदा बुकिङ रद्द गर्नुपरेको भन्दै कम्पनीले यस वर्ष भने सुरुमै हात झिकेको हो ।

दसैंका बेला काठमाडौं उपत्यकामा मात्रै करिब ३५ देखि ४० हजार खसी, बोका र च्याङ्ग्राको माग हुने गरेको व्यापारीहरूले बताउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस्