×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

पत्रकार खेम भण्डारी पक्राउ

पत्रकार खेम भण्डारी पक्राउ

काठमाडौं । कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । उनलाई कञ्चनपुर प्रहरीले बिहीबार बिहान पक्राउ गरेको हो । भीमदत्त नगरपालिका(१८ कटानबाट पत्रकार भण्डारीलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले पुष्टि गरेका छन् ।

भण्डारीलाई अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएको उनले बताए । निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणका विषयमा गाली बेइज्जतीको मुद्दामा पत्रकार भण्डारीलाई कञ्चनपुर जिल्ला अदालतले १ जेठ २०८२ मा दोषी ठहर गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले उनलाई गाली बेइज्जतीको कसुरमा एक महिना कैदको फैसला गरेको थियो ।

भण्डारीलाई एक महिना कैदका साथै १० हजार जरिवाना र एक लाख क्षतिपूर्ति तिराउने फैसला पनि भएको थियो ।

निर्मला पन्त प्रकरणमा तथ्यहीन रूपमा आफूलाई जोड्दै समाचार लेखेको भन्दै कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज बिष्ट (हाल एसएसपीबाट अवकाश)का छोरा किरण बिष्टले उनी विरुद्ध मुद्दा दायर गरेका थिए । मुद्दा दायर गरेका किरण पनि पत्रकार हुन् । उनी राष्ट्रिय समाचार समितिमा कार्यरत छन् ।

१० साउन २०७५ मा साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी पन्त भोलिपल्ट भीमदत्त नगरपालिकाकै निम्बुखेडा खोला किनारको उखुबारीमा मृत भेटिएकी थिइन् । यो प्रकरणका आरोपी अहिलेसम्म पहिचान हुनसकेको छैन ।

प्रतिकृया दिनुहोस्