जनकपुरधाम । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालकको ११ दिनपछि प्रहरीले सकुशल उद्धार गरेको छ । बालकलाई अपहरण गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता ओमप्रकाश खनालका अनुसार कमलेश महतोका १५ महिनाका छोरा सिधान्त महतो भदौ १८ गते अपराह्न करिब ४ः४० बजे आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा हराएका थिए । बालक हराएको सूचना प्राप्त भएपछि प्रहरी चौकी गिद्धाबाट टोली परिचालन गरिएको थियो ।
बालकको खोजीका लागि जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी उपरीक्षक रुपेश खड्काको कमान्डमा ६० जनाको प्रहरी टोली परिचालन गरिएको थियो । तालिमप्राप्त कुकुरको समेत सहयोगमा घटनास्थल र आसपासका क्षेत्रमा खोजतलास गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल तथा मधेश प्रदेश प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङको कमान्डमा खटिएको प्रादेशिक सूचना विश्लेषण तथा अनुसन्धान समूहको संयुक्त टोलीले अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानका क्रममा बालकलाई कमला नगरपालिका–९ हथलेट्वाकी करिब ४१ वर्षीया पुनिता देवी पासवानले अपहरण गरेको खुलेको डिएसपी खनालले बताए ।
उनका अनुसार शंकित महिलाले बालकलाई स्थान परिवर्तन गर्दै नेपाल तथा भारतका विभिन्न ठाउँमा लुकाएर राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो।
त्यसपछि धनुषाका सम्पूर्ण नाकामा २४ घण्टा प्रहरी परिचालन गर्नुका साथै प्राविधिक अनुसन्धानमार्फत उनको खोजी तीव्र पारिएको थियो ।
प्रहरीले घेराबन्दी गरेपछि भदौ २९ गते दिउँसो करिब ३स्३५ बजे ती महिलाले बालकलाई उनको घरदेखि करिब ३०० मिटर दक्षिण सडकछेउमा छाडेर भागेकी थिइन् ।
प्रहरीले तत्काल बालकको उद्धार गरी स्वास्थ्य परीक्षण गराएर अभिभावकको जिम्मा लगाएको जनाएको छ। बालकको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
बालकलाई छाडेर भागेकी पुनिता देवी पासवानलाई पनि प्रहरीले सोही दिन साँझ ३ः४५ बजे भारततर्फ भाग्दै गरेको अवस्थामा विदेह नगरपालिका–१ महिनाथपुरस्थित दशगजा क्षेत्रबाट नियन्त्रणमा लिएको हो । उनीविरुद्ध अपहरण, शरीर बन्धक तथा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।