×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

शिक्षा

त्रिविमा यो वर्ष ९५ हजार ५४० विद्यार्थी दीक्षित हुने, सातै प्रदेशमा दीक्षान्त गर्ने तयारी

त्रिविमा यो वर्ष ९५ हजार ५४० विद्यार्थी दीक्षित हुने, सातै प्रदेशमा दीक्षान्त गर्ने तयारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट यस वर्ष ९५ हजार ५४० विद्यार्थी दीक्षित हुने भएका छन् ।

त्रिविको ६७औँ वार्षिक दिवस बैठकमा रजिस्ट्रार डा. रवीन्द्र अधिकारीले ६४औँ ग्रेसलिस्टसम्बन्धी तथ्यांक प्रस्तुत गर्दै १ असार २०८२ सालदेखि २०८३ साल असार मसान्तसम्म विभिन्न तह उत्तीर्ण गरेका कुल ९५ हजार ५४० विद्यार्थी दीक्षान्तका लागि योग्य रहेको जानकारी दिए ।

कुल विद्यार्थीमध्ये प्राविधिकतर्फ १५.१० प्रतिशत र साधारणतर्फ ८४.९० प्रतिशत रहेका छन् । यस्तै, एमफिलतर्फ २५३, पीजीडीतर्फ १८४ र विद्यावारिधितर्फ १६६ जना रहेका छन् ।

संकायगत रूपमा व्यवस्थापन संकायबाट सबैभन्दा धेरै ४३ हजार १४२ विद्यार्थी उत्पादन भएका छन् । शिक्षाशास्त्र संकायबाट १९ हजार ५३३, मानविकी तथा सामाजिकशास्त्र संकायबाट १५ हजार ४४१ र कानुन संकायबाट ३ हजार १ विद्यार्थी रहेका छन् ।

त्यस्तै, विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट ६ हजार ६८८, इन्जिनियरिङ अध्ययन संस्थानबाट ५ हजार १६०, चिकित्साशास्त्र अध्ययन संस्थानबाट १ हजार ९२०, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानबाट ४६३ र वन विज्ञान अध्ययन संस्थानबाट १९२ विद्यार्थी दीक्षान्तका लागि योग्य भएका छन् ।

रजिस्ट्रार अधिकारीका अनुसार विद्यार्थीहरूको दीक्षान्त कार्यक्रम २०८३ साल पुसमा काठमाडौंमा मूल दीक्षान्त समारोह आयोजना गरी सम्पन्न गर्ने तयारी छ ।

साथै, विद्यार्थीलाई सहज हुने गरी सातै प्रदेशमा समेत दीक्षान्त समारोह आयोजना गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्