×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

कृषि

धापासीमा रैथाने कृषि तथा व्यापार मेला हुँदै

धापासीमा रैथाने कृषि तथा व्यापार मेला हुँदै

काठमाडौं । नेपाली मौलिक कृषि उत्पादन, परम्परागत खाद्य संस्कृति र रैथाने परिकारको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौंको धापासीमा ‘स्वर्णिम कृषि प्रदर्शनी तथा रैथाने व्यापार मेला २०८३’ आयोजना हुने भएको छ ।

रैथाने एग्री प्रडक्ट्स नेपाल र विश्व प्रकृति संरक्षण नेपालको संयुक्त आयोजनामा आगामी कात्तिक २० देखि २२ गतेसम्म टोखा नगरपालिका–४ स्थित धापासी हाइटको रैथाने घरमा मेला सञ्चालन हुन लागेको हो ।

तिहार तथा छठ पर्वको अवसर पारेर आयोजना गर्न लागिएको मेलामा देशका विभिन्न हिमाली, पहाडी तथा तराई क्षेत्रका किसान, उत्पादक र साना उद्यमीले उत्पादन गरेका रैथाने कृषि उपज, खाद्यवस्तु, परम्परागत परिकार, बीउबिजन तथा वातावरणमैत्री कृषि सामग्री प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछन् ।

मेलामा करिब ५० वटा स्टल रहने आयोजकको भनाइ छ । तीन दिनसम्म चल्ने मेलामा करिब ५ हजार उपभोक्ता तथा सरोकारवालाको सहभागिता र २० लाख रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।

मेलाले किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्नुका साथै स्थानीय उत्पादनको बजार विस्तार, किसान तथा साना उद्यमीको आयआर्जन वृद्धि र स्वदेशी उत्पादनको उपभोगलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ ।

मेलाको पहिलो दिन उद्घाटनसँगै राष्ट्रिय जीन बैंकका डा. बालकृष्ण जोशीको विशेष प्रस्तुति रहनेछ । उक्त कार्यक्रममा स्वर्णिम कृषिको अवधारणा, रैथाने बाली तथा स्थानीय जातको संरक्षण र कृषि जैविक विविधताको महत्त्वबारे अन्तरक्रिया गरिने आयोजकले जनाएको छ ।

दोस्रो दिन रैथाने कृषि उत्पादनको बजारीकरणमा संलग्न उद्यमी, व्यापारी तथा अनलाइन व्यवसायीबीच अन्तरक्रिया हुनेछ । होटल, रेस्टुरेन्ट तथा विद्यालयजस्ता संस्थाले नेपाली मौलिक खानाका परिकारको संरक्षण र व्यावसायिक विकासमा खेल्न सक्ने भूमिकाबारे पनि छलफल गरिनेछ ।

यस दिन १५ वटाभन्दा बढी रैथाने तथा परम्परागत नेपाली खानाका परिकार प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछन् । स्थानीय महिलाको पाककला र परम्परागत सीपको संरक्षण गर्ने उद्देश्यले सेलरोटी बनाउने प्रतियोगितासमेत आयोजना हुनेछ । प्रतियोगितामा १० जना महिलाले सहभागिता जनाउनेछन् । उत्कृष्ट तीन जनालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

मेलाको तेस्रो दिन आधुनिक तथा वातावरणमैत्री चुलोको महत्त्व, ऊर्जा बचत, धुवाँबाट हुने प्रदूषण न्यूनीकरण र रैथाने परिकार बनाउने विधिबारे छलफल तथा व्यावहारिक अभ्यास गरिनेछ । सोही दिन तिहार विशेष देउसी–भैलो कार्यक्रम पनि आयोजना हुनेछ ।

मेलामा कृषि तथा खाद्य उत्पादनका अतिरिक्त गोबर मल, झोल मल, स्थानीय बीउबिजन, बिरुवा र अन्य वातावरणमैत्री कृषि सामग्रीसमेत प्रदर्शन गरिनेछ । नेपाली मौलिक जीवनशैली र परम्परागत सीपको झल्को दिने दुना–टपरी गाँस्ने, दारको ठेकीमा मोही पार्ने, ढिकी, जाँतो तथा घट्ट प्रयोग गर्ने र मकै भुट्ने अभ्याससमेत प्रत्यक्ष अवलोकन गर्न पाइने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार मेला व्यापारिक गतिविधिमा मात्र सीमित नभई किसान, उत्पादक, उद्यमी, बजार र उपभोक्ताबीच दीर्घकालीन सम्बन्ध स्थापित गर्ने साझा अभियान हो । यसबाट स्थानीय उत्पादनको बजारीकरण, कृषि उद्यमशीलताको विकास, महिला तथा युवा उद्यमीको प्रोत्साहन र नयाँ पुस्तामा रैथाने कृषि तथा मौलिक खाद्य संस्कृतिप्रति आकर्षण बढ्ने अपेक्षा गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्