काठमाडौं । लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि, पीडितको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्ने उद्देश्यले यस वर्ष पनि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन हुने भएको छ ।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय अभियान यस वर्ष सन् २०२६ नोभेम्बर २५ देखि डिसेम्बर १० अर्थात् २०८३ मंसिर ९ देखि २४ गतेसम्म सञ्चालन हुनेछ ।
यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘‘UNiTE to End Violence Against Women and Girls: Ensure justice, protect survivors, end impunity’ रहेको छ । यसको नेपाली भावार्थ महिलाहरू तथा बालिकाविरुद्ध हुने हिंसा अन्त्यका लागि एकजुट हुँदै न्याय सुनिश्चित गर्ने, पीडितको संरक्षण गर्ने र दण्डहीनताको अन्त्य गर्ने भन्ने छ ।
त्यसैगरी, नेपालमा यस वर्षको राष्ट्रिय नारा ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता स् पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ तय गरिएको छ ।
अभियानले महिला तथा बालिकामाथि हुने सबै प्रकारका लैङ्गिक हिंसाविरुद्ध सामूहिक प्रतिबद्धता र ऐक्यबद्धता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ । साथै, हिंसापीडित तथा प्रभावितको सुरक्षा, सम्मान र न्याय सुनिश्चित गर्नुपर्ने आवश्यकतालाई प्राथमिकता दिएको छ ।
लैङ्गिक हिंसा अन्त्यका लागि राज्यका निकाय, नागरिक समाज, समुदाय तथा सबै सरोकारवालाको साझा प्रयास, जिम्मेवारी र सक्रिय सहभागिता आवश्यक रहेको सन्देश अभियानले प्रवाह गर्नेछ ।
अभियानका क्रममा लैङ्गिक हिंसाविरुद्ध जनचेतना फैलाउने, पीडितको संरक्षण सुनिश्चित गर्ने तथा हिंसाका घटनामा दण्डहीनताको अन्त्य गरी न्यायमा पहुँच स्थापित गर्ने विषयमा जोड दिइनेछ ।