काठमाडौं । तामाङ संस्कृति, भाषा, साहित्य तथा संगीत क्षेत्रमा योगदान पुर्याउने स्रष्टाहरूलाई सम्मान गर्दै ‘तामाङ स्रष्टा सम्मान : तामाङ ज्ञान–संस्कृति विमर्श’ कार्यक्रम आयोजना हुने भएको छ।
तामाङ संस्कृतिका मर्मज्ञ इमान्याङ लामा र संगीत सम्राट गोपाल योञ्जनको जन्मजयन्तीको अवसर पारेर विशेष सांगीतिक कार्यक्रम–२०८३ सहित कार्यक्रम आयोजना गर्न लागिएको हो।
नेपाल तामाङ घेदुङको आयोजनामा तथा सह–आयोजक संस्थाहरूको सहकार्यमा हुने कार्यक्रममा तामाङ भाषा, लिपि, संस्कृति, इतिहास र ज्ञान परम्पराका विषयमा विमर्शसमेत गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा मानवशास्त्री डा. मुक्तसिंह थाङ्गर, संस्कृतिविद् बुद्धि तामाङ, भाषा तथा लिपिविद् अजितमान तामाङ, वरिष्ठ पत्रकार कुमार यात्री तामाङ, भाषा तथा लिपिविद् राजेन्द्र थाङ्गर तामाङ तथा सिक्किम भारतकी अनुभवी शेरिङ डा. छङ्दा योञ्जन तामाङलगायतले विभिन्न विषयमा प्रस्तुति दिने कार्यक्रम रहेको छ।
कार्यक्रम भदौ ७ र ८ गते बिहान १० बजे काठमाडौंको घेदुङ समाज, चुच्चेपाटीमा आयोजना हुनेछ।
कार्यक्रममार्फत तामाङ समुदायका मौलिक ज्ञान, संस्कृति, भाषा, लिपि, संगीत तथा सिर्जनशीलतालाई संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तासम्म पुर्याउने उद्देश्य राखिएको आयोजकको भनाइ छ। साथै कार्यक्रममा विभिन्न तामाङ संघ–संस्था तथा सञ्चारमाध्यमको सहकार्य रहनेछ।
तामाङ कला, साहित्य, संगीत र संस्कृतिमा योगदान पुर्याएका स्रष्टाहरूको सम्मानसँगै तामाङ ज्ञान र सांस्कृतिक पहिचानका विविध पक्षमा हुने विमर्शले समुदायभित्र सांस्कृतिक चेतना अभिवृद्धिमा योगदान पुग्ने अपेक्षा गरिएको छ।