काभ्रे । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकाका दुई स्थानमा पहिरो तथा खहरे खोलाको लेदो सडकमा खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार रोशी गाउँपालिका–९ पिन्थलीमा सडकमाथिबाट ढुङ्गा, माटो र लेदोसहितको खहरे खोलाको भेल सडकमा आएको छ। त्यसैगरी रोशी गाउँपालिका–८ गिम्दीबेसीमा पहिरो झरिरहेको छ।
उक्त दुवै स्थानमा सडक अवरुद्ध भएपछि बीपी राजमार्गमा दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।
सडक अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधन बीच बाटोमै रोकिएका छन्। सम्भावित जोखिमलाई मध्यनजर गर्दै यात्रु तथा सवारी चालकलाई पहिरो प्रभावित क्षेत्रमा अनावश्यक यात्रा नगर्न र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।
स्रोतः जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोक।