काठमाडौं । अन्तर्राष्ट्रिय गणित शिक्षा सम्मेलनको तेस्रो संस्करण आउँदो मंसिरमा काठमाडौंमा आयोजना हुने भएको छ । गणित शिक्षा परिषद् नेपाल र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय गणित शिक्षा विभागको आयोजनामा मंसिर ११, १२ र १३ गते सम्मेलन हुन लागेको हो ।
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुरमा हुने सम्मेलनमा नेपालसहित ११ देशका प्रतिनिधिहरु सहभागी हुनेछन् ।
गणित शिक्षा परिषद् नेपालका अध्यक्ष डा. रमेशप्रसाद अवस्थीका अनुसार सम्मेलनमा नेपाल, भारत, चीन, अमेरिका, जापान, अष्ट्रेलिया, क्यानडा, बेलायत, जर्मनी, सिंगापुर र मलेसियाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्राध्यापक, शिक्षक, विद्यार्थी, शिक्षक प्रशिक्षक, विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता, पाठ्यक्रम विशेषज्ञ, शैक्षिक अभ्यासकर्ता तथा गणित क्षेत्रका विज्ञहरू सहभागी हुनेछन् ।
सम्मेलनमा मानव सिर्जनशीलता, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित रहेर गणित शिक्षाको वर्तमान अवस्था, चुनौती र भविष्यका सम्भावनाबारे छलफल हुने परिषद अध्यक्ष अवस्थीले बताए ।
‘भोलिको कक्षाकोठालाई आकार दिनु वा भविष्यको कक्षाकोठा निर्माण गर्नु’ भन्ने मूल शीर्षकमा आयोजना हुने सम्मेलनमा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुति, कार्यशाला, प्यानल छलफल तथा समानान्तर सत्रहरू सञ्चालन गरिनेछन् ।
ती सत्रमा वर्तमान शिक्षा प्रणाली, शिक्षण विधि, आधुनिक प्रविधि तथा शैक्षिक स्रोतको प्रयोग र भविष्यको शिक्षाका लागि आवश्यक सीपबारे अनुसन्धानबाट प्राप्त निष्कर्ष प्रस्तुत गरिनेछ ।
गणित शिक्षामा चासो राख्ने व्यक्ति तथा सम्बन्धित संघसंस्था पनि सम्मेलनमा सहभागी हुनसक्ने छन् । त्यसका लागि गणित शिक्षा परिषद् नेपाल र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय गणित शिक्षा विभागमा सम्पर्क राख्न आयोजकले आग्रह गरेको छ ।
यसअघि सन् २०१७ मा पहिलोपटक र सन् २०२३ मा दोस्रोपटक काठमाडौंमा अन्तर्राष्ट्रिय गणित शिक्षा सम्मेलन आयोजना भएको थियो ।