हुम्ला । तीन दिनदेखि परेको अविरल वर्षासँगै हुम्लाको उत्तरी नाम्खा गाउँपालिका भारी हिमपात भएको छ। हिमपातसँगै नाम्खा गाउँपालिका-६ को न्यालु लेक र वडानम्बर ५ को नारा लेक सडक बन्द भएको हो ।
नाम्खा गाउँपालिका-६ को लिमीका तिल, जाँङ, हल्जी आउजाउ गर्न बन्द भएको वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए। यसपटक हिउँदको समयभन्दा धेरै ३ फिट हिउँ जमेको वडाध्यक्ष तामाङले बताए।
गाउँको खेतबारीमा लगाइएको तरकारीलगायतको खेती हिउँले ढाकेको छ ।
हिमपातले वनमा रहेका चौरीहरू पनि घर ल्याउन नसकिएको र पहिरोको डरले आफूहरु सामुदायिक भवनमा सुरक्षित भएर बसेको वडाध्यक्ष तामाङको भनाइ छ ।
न्यालु लेख बन्द भएसँगै लिमी-लाप्चाबाट मानसरोवर कैलाश दूरदर्शन गर्न आउजाउ गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत समस्यामा परेका छन् ।