काठमाडौं । नेपाल सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट बाहिर निस्किन फेरि पनि असफल भएको छ ।
फ्रान्सको पेरिसमा आयोजित फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को प्लेनरी तथा वर्किङ ग्रुप बैठकले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी लगानीको जोखिमपूर्ण सूची (ग्रे लिस्ट)मा निरन्तरता दिएको छ ।
एफएटीएफ सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधमा लगानी रोक्न संसारभरका मुलुकहरुले खडा गरेको अन्तरसरकारी निकाय हो । यसले सम्पत्ति शुद्धीकरणको जोखिममा रहेका मुलुकलाई ‘ब्ल्याक लिस्ट’ तथा ‘ग्रे–लिस्ट’मा राख्दै आएको छ ।
एफएटीएफले सम्पत्ति शुद्धीकरण तथा आतंकवादमा लगानी नियन्त्रणमा कुनै पनि मुलुकको अवस्थालाई प्रभावकारितासम्बन्धी ११ सूचक तथा प्राविधिकतर्फ ४० सूचकमा मूल्यांकन गर्ने गर्छ ।
यसअघि सन् २००८ मा नेपाल यस्तै जोखिमपूर्ण सूची (ग्रे लिस्ट)मा परेको थियो । सन् २०१४ मा मात्रै नेपाल त्यो सूचीबाट स्तरोन्नति भएको थियो ।
सन् २०१२ मा नेपाल झण्डैझण्डै ब्ल्याक लिस्टमा परेको थियो । त्यसबेला अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले नेपालमा हामी सुधार गराउँछौं, ब्ल्याकलिस्ट नराख भन्दै प्रतिबद्धता गरेपछि त्यसबेला नेपाल जोगिएको थियो ।
सोहीअनुसार आईएमएफको सल्लाहमा नेपालले नीतिगत सुधार गरेपछि नेपाल ब्ल्याक लिस्टबाट जोगिँदै सन् २०१४ मा ग्रे लिस्टबाट स्तरोन्नति पनि भएको थियो । त्यसयता ग्रे लिस्टबाट बाहिर निस्किन नेपालले गरेको प्रयास सफल हुन सकेको छैन ।
एफएटीएफले खैरो सूचीबाट बाहिर निस्किनका लागि नेपाललाई कानुन कार्यान्वयन, वित्तीय अनुगमन प्रणली, जोखिमयुक्त क्षेत्र नियन्त्रण लगायतका क्षेत्रमा सुधार गर्न सुझाव दिएको छ ।