काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्यान्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भेटवार्तापछि नेपाल र फिनल्यान्डबीच सार्वजनिक लगानी परिचालन परियोजना सम्बन्धी खाका सम्झौतामा हस्ताक्षर भएको छ ।
फिनल्यान्डको सार्वजनिक लगानी सुविधा योजना अन्तर्गत वित्त परिचालन हुने परियोजनाको सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र नेपालका लागि फिनल्यान्डका राजदूत रिना रिक्का हेइकाले हस्ताक्षर गरे ।
नेपालमा सामाजिक–आर्थिक पूर्वाधार सुदृढ गर्न र दिगो विकास प्रोत्साहन गर्न परियोजनामा आधारित सहुलियतपूर्ण वित्तीय परिचालन गर्ने लक्ष्य सम्झौताको छ ।
अनुदान प्राप्त परियोजना मार्फत नेपालले खानेपानी, फोहोर व्यवस्थापन, ऊर्जा र विद्युत, डिजिटलाइजेसन, मौसम विज्ञान, स्वास्थ्य सेवा प्रविधि, विपद् व्यवस्थापन र उद्धार सामग्री लगायत सामाजिक–आर्थिक पूर्वाधारमा लगानी गर्न सक्छ ।
आर्थिक परिचालन प्रक्रिया सार्वजनिक क्षेत्र लगानी सुविधा मार्गदर्शनद्वारा निर्देशित हुनेछ, जुन आर्थिक सहयोग र विकास संगठन (ओईसीडी) ढाँचामा आधारित छ । नेपाल अतिकम विकसित देश (एलडीसी) सूचीमा परेकाले ५० पचास प्रतिशत आर्थिक सहायता अनुदानका रूपमा उपलब्ध गराइने छ ।
कार्यक्रममा अर्थमन्त्री पौडेलले यो सम्झौता नेपालको आर्थिक–सामाजिक क्षेत्रको पूर्वाधार विकासका लागि महत्त्वपूर्ण उपलब्धि हुने बताए ।
त्यस्तै फिनल्यान्डका विकासमन्त्री ताभियोले सार्वजनिक लगानी परिचालन दुई देशबीच आर्थिक सहकार्य विकासका लागि महत्त्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गरिन् ।