रसुवा । नन्दप्रसाद जानुका फाउन्डेसन र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)यूकेले भोटेकोशी प्रलयमा परी जनधन गुमाएका परिवारलाई रसुवामा पुगेर मायास्वरुप राहत सामग्री प्रदान गरेको छ।
रसुवाको कालिका गाउँपालिका वडा नम्बर १ राम्चेका ७२ पीडित परिवारलाई राहत सामग्री वितरण गरिएको हो।
फाउन्डेसनका अध्यक्ष अजयबाबु शिवाकोटीले इनास यूके र फाउन्डेसनले जुटाएको सामग्री कालिका गाउँपालिका १ का वडा अध्यक्ष दावा तामाङलाई हस्तान्तरण गरे । राहत सामग्री ग्रहण गर्न पीडित परिवारका आफन्त आएका थिए ।
वडामा रहेका पीडित परिवारका सदस्यहरूलाई वितरण गर्ने राहत सामग्री ग्रहण गर्दै वडा अध्यक्ष तामाङले पीडाको बेलामा सहयोग गर्न आउने फाउन्डेसन र इनास यूके परिवारलाई धन्यवाद दिँदै अन्य सहयोगी मन तथा संस्थाहरूलाई सहयोगको हात बढाउन आग्रह गरे ।
फाउन्डेसनले सहयोगीहरुबाट प्राप्त सहयोग एवं आफ्नै कोषमा रहेको रकममा इनास यूकेले मायास्वरूप पठाएको सहयोग एकत्रित गरी पीडित ७२ परिवारलाई राहत वितरण गरेको अध्यक्ष शिवाकोटीले जानकारी दिए ।
इनास युकेका मनिष श्रेष्ठले पहिलो चरणमा रसुवाका पीडित परिवारसँग पुगेर माया साटिएको बताउँदै यसपछि पनि आफूहरु पीडित परिवारसँग पुग्ने बताए ।
भोटेकोशी प्रलायमा परी जीवन गुमाएका तथा वेपत्ता भएका व्यक्तिहरूको खोजी कार्य अहिले पनि जारी छ। शव फेला परेका तथा जीवित रहेको आस नभएका व्यक्तिहरूको परिवार तथा आफन्तजन यतिखेर आ आफ्नो धार्मिक परम्परा अनुसार काजक्रियामा छन्।