×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

गाजामा युद्धविराम सम्झौता कार्यान्वयन सुरु

गाजामा युद्धविराम सम्झौता कार्यान्वयन सुरु

काठमाडौं । गाजामा युद्धविराम सम्झौता कार्यान्वयन सुरु भएको छ । पाँच दिनअघि १५ जनवरी २०२५ मा कतार, अमेरिका र इजिप्टको प्रयासमा इजरायल र प्यालेस्टायनबीच युद्धविराम सम्झौता भएको थियो । सो सम्झौता आइतबार बिहानबाट लागू हुने भनिए पनि केही घण्टा ढिलो युद्धविराम सम्झौता कार्यान्वयनमा आएको हो ।

यससँगै १५ महिनापछि जारी युद्ध अन्त्य भएको छ । तीन चरणमा सम्पन्न गरिने भनिएको सम्झौताको पहिलो चरण आजबाट सुरु भएको हो । सम्झौताअनुसार हमासले ३३ युद्धबन्दीको रिहाइ गर्ने सूची इजरायललाई बुझाइसकेको छ । सट्टामा इजरायलले १९ सय प्यालिस्टिनी बन्दी र कैदीहरू रिहा गर्ने सम्झौतामा उल्लेख छ ।

उनीहरूलाई केही साताभित्र रिहाइ गरिनेछ । सूचीमा रहेका ३३ मध्ये तीन युद्धबन्दी आजै रिहा गरिने हमासले जनाएको छ ।

हमासले ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा आक्रमण गरेर १२ सयभन्दा बढीको हत्यागरेसँगै युद्ध चर्किएको थियो । युद्धका क्रममा ४८ हजारभन्दा बढी प्यालिस्टिनीको ज्यान गइसकेको छ ।

युद्धविरामको पहिलो चरण ६ साताको हुने सम्झौतामा उल्लेख छ । यसअवधिमा हमासले बन्धक बनाएका इजरायली सैनिक, महिला, बाल– बालिका, वृद्धवृद्धा र घाइतेसहित ३३ जना रिहा गरिने भनिएको हो ।

इजरायलले पनि प्यालेस्टिनी बस्तीबाट सेना फिर्ता सुरु गर्ने तथा प्यालेस्टिनीलाई उत्तरी गाजास्थित घर फर्कन अनुमति दिइने र ती स्थानमा मानवीय सहायताका लागि हरेक दिन करिब ६ सय ट्रकलाई प्रवेश अनुमति दिने सम्झौतामा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्