काठमाडौँ । यातायात व्यवस्था विभागले वृद्धि भएको भादादार विद्युतीय सवारी साधनमा लागु नहुने स्पष्ट गरेको छ ।
विभागले फागुन २५ मा अन्तर्राष्ट्रियस्तरमै जैविक इन्धनको मूल्यवृद्धि हुन गई स्वचालित भाडा समायोजन प्रणाली अनुरुप अन्तरप्रदेशीय सार्वजनिक सवारीसाधनको भाडा समायोजन गरिँदा यात्रुवाहक तथा मालवाहक सार्वजनिक सवारीसाधनको भाडामा भएको वृद्धि केवल डिजेल इन्जिन प्रयोग हुने सार्वजनिक सवारीसाधनको हकमा मात्रै भएको तर विद्युतीय सवारीसाधनको हकमा उक्त भाडा वृद्धि लागु नहुने स्पष्ट गरेको हो ।
विभागले कुनै कुनै विद्युतीय सवारीसाधन प्रयोग गर्ने यातायात सेवा प्रदायकबाट यात्रु ओसार-पसार गर्दा माथि उल्लेख भए अनुसार वृद्धि भएको भाडा असुलिएको साथै यात्रुलाई यात्री टिकट समेत नदिइएको गुनासो प्राप्त भएको हुँदा विद्युतीय सवारीसाधनको हकमा साविककै भाडादर कायम रहेको बताएको छ ।
साथै यातायात सेवा प्रदायकले यात्रुले भाडा तिरेको यात्री टिकट अनिवार्य रुपमा दिनुपर्ने प्रावधान रहेकोले सोही अनुसार गर्न निर्देशन दिदै त्यसको विपरित गरेको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९; सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ तथा अन्य प्रचलित कानुन बमोजिमको कारवाही हुने चेतावनी दिएको छ ।