काठमाडौं । गुगल म्याप्सले नेपालमा आजदेखि स्ट्रिट भ्यू सुरुवात गरेको छ । डिजिटल नेपाल कन्क्लेभ,२०२५मा गुगल म्याप्सका स्ट्रिट भ्यू प्रमुखले आजदेखि विश्वभरबाट नेपालका सुन्दर दृश्य र संस्कृति अवलोकन गर्न सकिने घोषणा गरे ।
उनले भने, ‘ अब तपाईहरूले विश्वभरबाट नेपालको सुन्दर दृश्यहरू र नपाली संस्कृति अवलोकन गर्न सक्नुहुनेछ। नेपालमा निक्कै सुन्दर मन्दिरहरू छन्। प्राकृतिक सम्पदाहरू छन्।’
उनका अनुसार यो स्ट्रिट भ्युजमार्फत नेपालको अद्भुत भू–दृश्य र समृद्ध संस्कृति भर्चुअल रूपमा अवलोकन गर्न सक्नेछन् ।
‘अब तपाईं काठमाडौंका जीवन्त सडक गल्लीहरूमा टहलिन सक्नुहुन्छ। तपाईं शान्त सुन्दर तराई क्षेत्रको अन्वेषण गर्न सक्नुहुन्छ,’ उनले कार्यक्रममा बोल्दै भने, ‘तपाईं हिउँले ढाकिएका हिमशृंखलाहरूको मनोरम दृश्य देखाउने घुमाउरा सडकमा भर्चुअल यात्रा गर्न सक्नुहुन्छ।’
उनले यी सबै चीज अब फोन वा कम्प्युटरबाट सजिलै हेर्न सकिने सम्भव भइसकेको दाबी गरे ।
उनले भने, ‘तपाईँलाई यसबाट छुट्टै संसारमा प्रवेश गराएर नेपालको समृद्ध वास्तुकलाको इतिहास,प्राचीन मन्दिर र दरबार तथा चहलपहलयुक्त बजार र जीवन्त परम्परालाई नजिकबाट हेर्ने अवसर दिनेछ।’
नेपाल नेपाल प्राकृतिक रुपमै धनी भएकाले विश्वलाई नेपाल अनुभव गर्ने नयाँ र रोमाञ्चक माध्यम उपलब्ध गराउने र यसले पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने बताए । ‘नेपालको समृद्ध सांस्कृतिक सम्पदा र पर्यटन सम्भावना दुवैलाई प्रवर्द्धन गर्न मद्दत पुर्याउनेछ।’ उनले भने ।
स्ट्रिट भ्यू प्रमुख नैरका अनुसार नेपालका नवीनतम दृश्यहरू हेर्नको लागि, आफ्नो फोन वा कम्प्युटरमा गुगल म्याप्स खोलेर ३६० डिग्री भ्यु हेर्न सकिनेछ भने पहेँलो स्ट्रिट भ्यू पेगम्यान (Street View pegman)मा क्लिक गेर आम पाठकले हेर्न सक्नेछन् ।