×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

नगरकोट भ्रमण वर्ष २०८२ को तयारी तिव्र रुपमा जारी

नगरकोट भ्रमण वर्ष २०८२ को तयारी तिव्र रुपमा जारी

भक्तपुर, माघ ११ । नगरकोट भ्रमण वर्ष २०८२ को तयारीस्वस्प मूल समारोह समितिको प्रथम बैठक बसेको छ । नगरपालिकाको सभाहल खरीपाटीमा शुक्रबार बैठक बसेको हो ।

बैठकका अध्यक्ष तथा नगर प्रमुख जीवन खत्रीले भ्रमण वर्षको तयारी स्वस्प प्रत्येक नगरबासीलाई घरघरबाट जागृत गर्ने उद्देश्यले सम्पूर्ण सरोकारवाला निकाय सम्मिलीत समिति निर्माण गरि बैठक आयोजना गरिएको बताएका छन ।

मेयर खत्रीले समग्र चाँगुनारायणको धार्मिक, साँस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाहरुलाई प्रचार प्रसार गरि पर्यटन मार्फत नगरलाई समृद्ध बनाउन भ्रमण वर्ष आयोजना गरिएको स्पष्ट पारे । उनले माघभित्र सबैको सुझाव संकलन गरि फागुनदेखि प्रचार प्रसारमा लाग्ने पनि जानकारी दिए ।

बैठकमा सहभागि सरोकारवालाहरुले भ्रमण वर्षको बारेमा आ-आफ्ना धारणा राखेका थिए । बैठकमा प्रतिनिधिसभा सांसद तथा समितिका सल्लाहकार दुर्लभ थापाले समग्र चाँगुनारायणको पर्यटन प्रबद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले नगरकोट भ्रमण आयोजना गरिनु सराहनीय कार्य भएको बताए ।

सांसद थापाले नगरकोट कमलविनायक सडक नगरपालिका आफैले निर्माण गर्न बजेट विनियोजन गरेकोमा खुसी ब्यक्त गर्दै कानूनी प्रक्रिया पुर्याएर चाँडो निर्माण गर्नुपर्नेमा जोड दिए । उनले नगरकोट भ्रमण वर्ष सफल बनाउन सबै एकजुट भएर तयारीमा लाग्नुपर्ने समेत बताए ।

अर्का, संघीय सांसद तथा समितिका सल्लाहकार सन्तोष परियारले पर्यटन प्रबद्र्धन गर्दै आन्तरिक तथा बाह्रय पर्यटनमार्फत नगरको विकास गर्ने सोच राख्नु सकारात्मक कदम भएको बताए । सल्लाहकार परियारले नगरकोट भ्रमण वर्ष सफल बनाउन संघबाट गर्नुपर्ने र खेल्नुपर्ने जस्तोसुकै भूमीका निर्वाह गर्न र सहयोग तयार रहेको बताए ।

बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले नगरकोट भ्रमण वर्षमार्फत नगरभित्र रहेका विभिन्न जातजाती, धर्म, कला संस्कृतिको जर्गेना, उत्थान तथा संरक्षण गर्नुपर्नेमा जोड दिए। सांसद श्रेष्ठले भ्रमण वर्ष सफल बनाउन प्रत्येक नगरबासी घर-घर टोल-टोलबाट लाग्नुपर्ने समेत बताए ।

बागमती प्रदेशका पूर्व मन्त्री तथा समितिका सल्लाहकार कृष्णलाल भँडेलले समग्र नगरपालिकाको कला, संस्कृति र सम्पदा संरक्षण गर्दै प्रचार प्रसार गर्ने सोच राख्नु अत्यन्तै सराहनीय कार्य भएको बताए । भ्रमण वर्ष अवसर र चुनौती दुवै भएको भन्दै सल्लाहकार भँडेलले नगरपालिका मात्रको एक्लो प्रयासले सफल नहुने भएकाले सबैको सामूहिक प्रयास आवश्यक रहेको बताए।

बागमती प्रदेश सभा सदस्य देवेन्द्र श्रेष्ठले नगरपालिकाले आफ्नै स्रोत र साधनबाट समृद्ध नगर बनाउने सोचका साथ पर्यटन प्रबद्र्धनमा लाग्नु अत्यन्तै महत्वपूर्ण कार्य भएको बताए ।

बैठकमा नगर उपप्रमुख रमेश बुढाथोकीले नगरकोट भ्रमण वर्ष मनाउनुको उद्देश्य, हालको तयारी, भ्रमण वर्षले पार्ने प्रभाव र पर्यटन प्रबद्र्धनमा पुग्ने लाभका विषयमा विस्तृत योेजनासहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

नगर प्रवक्ता जनक खत्रीले संचालन गर्नु भएको बैठकमा वडा नंं ६ नगरकोटका वडाध्यक्ष धन बहादुर लामाले धन्यवाद ज्ञापन गरेका थिए । बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिको तर्फबाट राप्रपाका अर्जुन काकी, रास्वपाका नगर अध्यक्ष रोशन थापालगायतले पनि नगरकोट भ्रमण वर्षको लागि गर्नुपर्ने तयारीका विषयमा धारणा राखेका थिए।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत तथा समितिको सदस्य सचिव शिव प्रसाद हुमेगाई र १ देखि ९ वटै वडाका वडाध्यक्षहरु, सल्लाहकारहरु, राजनीतिक दलका प्रतिनिधि, पूर्व जनप्रतिनिधिहरु, रेडक्रस, सुरक्षा निकायका प्रमुखहरु, नगरकोट नाल्दुम क्षेत्र विकास समितिका प्रतिनिधि, पत्रकार महासंघका प्रतिनिधि, होम स्टे ब्यवसायी, होटल ब्यवसायी, सहकारी संस्था, टोल विकास समिति, नगरपालिका भित्रका गैर सरकारी संस्था सामुदायिक वन र विद्यालका प्रतिनिधिहरु सहभागि थिए ।


 

प्रतिकृया दिनुहोस्