×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

ब्लाइण्ड क्रिकेट विश्वकप खेल्ने बागमती प्रदेशका खेलाडीलाई नगद पुरस्कार घोषणा

ब्लाइण्ड क्रिकेट विश्वकप खेल्ने बागमती प्रदेशका खेलाडीलाई नगद पुरस्कार घोषणा

काठमाडौं । पाकिस्तानमा जारी ब्लाइण्ड क्रिकेट टी२० विश्वकप खेलिरहेको नेपाली राष्ट्रिय टिममा रहेका बागमती प्रदेशका खेलाडीहरुलाई बागमती प्रदेश खेलकुद विकास परिषदले पुरस्कार घोषणा गरेको छ ।

बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव दिपक लामाले विश्वकपमा उच्च प्रदर्शन गर्ने बागमती प्रदेशका चार खेलाडीहरुलाई जनही २० हजार नगदबाट सम्मान गर्ने जानकारी दिए ।

ब्लाइण्ड टिममा बागमती प्रदेशबाट सागर लामा, प्रविन स्याङ्गतान, अमिस गुरागाईँ र सन्त पहारी विश्वकपमा सहभागी छन् ।

चौथो पटक ब्लाइन्ड क्रिकेट विश्वकप खेलेको नेपाली टोलीले पहिलो पटक सेमिफाइनल पुग्दै इतिहास रचेको थियो । ६ टोली सहभागी विश्वकपमा नेपाल चौथो स्थानमा रहँदै सेमिफाइनल पुग्न सफल भएको थियो ।

‘दृष्टिविहीनहरुले पनि खेलमा राम्रो प्रदर्शन गर्न सक्छन् भने उहाँहरुले प्रमाणित गर्नुभएको छ । त्यसमा हामीले सानो सहयोग स्वरुप सम्मान गर्न लागेका हौं’, बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव दिपक लामाले भने ।

लिग चरणमा नेपालले अफगानिस्तान र दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । श्रीलंका, बंगलादेश र पाकिस्तानसँग भने नेपाल पराजित भएको थियो । आइतबार विहान भएको सेमिफाइनलमा पनि पाकिस्तानसँग पराजित भयो ।

प्रतिकृया दिनुहोस्