×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

खेलकुद

आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ नेपालमा हुने

आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ नेपालमा हुने

काठमाडौं । सन् २०२७ को एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा सञ्चालन गर्ने जनाएको छ।

प्रतियोगितामा आईसीसी क्रिकेट विश्वकप लिग–२ मा अन्तिम स्थानमा रहने चार टोली तथा च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई-दुई टोली गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

यस प्रतियोगिताबाट शीर्ष चारमा रहने टोली सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने ५० ओभरको विश्वकप छनोट प्रतियोगितामा प्रवेश गर्नेछन्।

हालसम्म प्लेअफ खेल्ने ६ टोलीको टुङ्गो लागिसकेको छ । नेपालसहित क्यानडा र यूएई लिग २ को अन्तिम चारमा रहने पक्का भइसकेको छ भने च्यालेन्ज लिग बी बाट इटाली र युगान्डा पनि प्लेअफमा पुगिसकेका छन् ।

अब च्यालेन्ज लिग ए बाट जर्सी आउने पक्का भइसकेको छ भने कुवेतको पनि स्थान लगभग निश्चित छ, तर त्यहाँ अझै खेल बाँकी भएकाले आधिकारिक आउन बाँकी छ ।

लिग २ बाट पनि ओमान र नामिबियामध्ये एक टोली आउनेछन् । जसको पनि आधिकारिक टुङ्गो लाग्न बाँकी छ । यसरी ८ टोलीले प्लेअफ खेल्ने छन् ।

विश्वकप छनोट प्लेअफ नेपालमा आयोजना हुने भएपछि नेपाल र भारत ‘ए’ बीच डिसेम्बर ९, ११ र १३ मा हुने तय भएको क्रिकेट शृङ्खलाको तालिका पनि परिवर्तन हुने भएको छ।

क्यानका अनुसार भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) र क्यानबीचको आपसी समन्वय तथा सहमतिमा शृङ्खलाको नयाँ तालिका तय गरी सार्वजनिक गरिनेछ।

प्रतिकृया दिनुहोस्