×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

पहिलो पटक आज बङ्गलादेश जाँदै नेपालको बिजुली

पहिलो पटक आज बङ्गलादेश जाँदै नेपालको बिजुली

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज शुक्रबार ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्दै छ । विद्युत् व्यापारको नेपाली इतिहासमा भारतपछि अर्को देश बिजुली पुग्न लागेको यो पहिलो पटक हो। बिजुली निर्यात इतिहासमै एउटा महत्वपूर्ण फड्को मानिएको छ । 

भारत निर्यातका लागि नेपालले प्रस्ताव गरेका जलविद्युत् आयोजना स्वीकृति तथा अन्य प्रक्रिया मिलाउन समय लागेकाले सुरुवातका रूपमा एक दिनकै लागि भए पनि निर्यात गर्न लागिएको छ । 

प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले क्षेत्रीय विद्युत् व्यापारमा ऐतिहासिक कोशेढुङ्गा कायम हुन लागेको अर्थ डबलीलाई प्रतिक्रिया दिए । 

भारतको केन्द्रीय विद्युत् नियमन आयोगले नेपालको बिजुली बङ्गलादेश निर्यात गर्न अनुमति दिएपछि आज शुक्रबार प्राधिकरणले मध्यान्न विद्युत् निर्यात गर्नेछ।

विद्युत् व्यापार गर्ने विषयमा गत असोज १७ गते नेपाल, भारत र बङ्गलादेशका उच्च अधिकारीबीच त्रिपक्षीय सम्झौता भएको थियो।

सम्झौतामा नेपालका तर्फबाट प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरेका थिए । 

प्रतियुनिट आठ रुपैयाँ ६४ पैसा 
 
सम्झौता अनुसार हरेक वर्षको १५ जुनदेखि १५ नोभेम्बरसम्म विद्युत् बङ्गलादेश निर्यात गरिनेछ । प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय लाइनमार्फत भारतीय प्रणालीमा बिजुली उपलब्ध गराउनेछ । 

सो बिजुली भारतीय नोडल एजेन्सी एनभिभीएनले आफ्नो प्रसारण प्रणालीमार्फत बङ्गलादेश पु¥याउनेछ । 

सहमति अनुसार मुजफ्फपुरबाट भारतीय प्रसारण प्रणाली हुँदै बहरामपुर भेरमारा चार सय केभी प्रसारण लाइन हुँदै नेपाली बिजुली बङ्गलादेश पुग्नेछ । 

प्राधिकरणले प्रतियुनिट आठ रुपैयाँ ६४ पैसामा बिजुली निर्यात गरिने जनाएको छ । 

२०४० सम्म नौ हजार मेगावाट बिजुली लैजाने 


प्रवक्ता घोषका अनुसार प्राधिकरणले २५ मेगावाट क्षमताको त्रिशूली र २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बङ्गलादेश पठाउनेछ।

 
यसैबीच, बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने यसअघि नै घोषणा गरिसकेको छ । सरकारले सन् २०३५ सम्म तय गरेको कार्ययोजनामा २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको छ । 

त्यसमा १३ हजार मेगावाट आन्तरिक खपतमा प्रयोग गर्ने र १५ हजार मेगावाट भारत र बङ्गलादेश निर्यात गर्ने रणनीतिक लक्ष्य निर्धारण गरिएको छ ।
 
“नेपालको बिजुली बङ्गलादेश निर्यात हुनु आफैँमा महत्वपूर्ण र ऐतिहासिक परिघटना हो”, प्राधिकरणका प्रवक्ता घोषलेभने । “लामो समयदेखिको मेहनतको परिणाम हासिल भएको छ ।”

बङ्गलादेशमा भएको राजनीतिक परिवर्तनका कारण पछाडि सरेको विद्युत् व्यापार सम्झौता केही समय पर सरेको थियो । 

पछिल्ला दिनमा सघन छलफल पछि निर्यात सम्बन्धि विषयले मुर्त रुप लिएको हो । नेपालको जलविद्युत् क्षेत्रमा लगानी प्रवर्द्धनका लागि बङ्गलादेशको निजी क्षेत्रलाई आकर्षित गर्न सहयोग पुग्नेछ । सम्झौताका विभिन्न अनौपचारिक छलफलमा समेत व्यावसायिक सम्मेलन आयोजना गर्ने सम्बन्धमा सम्भावनाहरूको खोजी गरिने भनिएको छ ।

प्रतिकृया दिनुहोस्