×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

रुपन्देहीमा छविलाल जोशीको बयान सुरु

रुपन्देहीमा छविलाल जोशीको बयान सुरु

काठमाडौँ । सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीको मंगलबार जिल्ला सरकारी वकिल कार्यालयमा बयान सुरु भएको छ ।

रुपन्देहीको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत भएको अपचलनमा जोशी पनि संलग्न रहेको भन्दै प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीका प्रमुख प्रेमराज पौडेलको रोहवरमा बयान सुरु गरेको हो ।

इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डीएसपी विजयराज पण्डित, अनुसन्धान अधिकृतहरू यमलाल बन्जाडेसहित प्रहरीहरूले जोशीको बयान लिइरहेका छन् ।

६ असोजमा जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको उनलाई सोमबार बयानका लागि रुपन्देही लगिएको थियो । जोशीको बयान चलिरहँदा जिल्ला अदालत नजिकै सहकारी पीडितहरूले प्रदर्शन गरेका छन् ।

वचतकर्ताको निक्षेप फिर्ता र दोषीलाई कडा कारवाहीको माग गर्दै प्रदर्शन गरिएको सुप्रिम सहकारी पीडित संघर्ष समितिका संयोजक विजय नेपालले बताए ।

वचत रकम फिर्ता र सहकारीको रकम अपचलन गर्नेलाई कारबाही आफूहरूको प्रमुख माग रहेको उनले बताए ।

सहकारी रकम अपचलन संसदीय छानबिन समितिले गोर्खा मिडिया मार्फत भएको सहकारीको रकम अपचलनमा जीबी राई, रवि लामिछाने, कुमार रम्तेलसँगै जोशीलाई पनि कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको थियो ।

उनी गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक मध्येका एक हुन् ।

सुप्रिम सहकारी अपचलनको मुद्दा यसअघि नै अदालत पुगिसकेको छ । जोशी लगायतका व्यक्तिको संलग्नता खुलेको बखत पूरक अभियोजन बनाएर पुनः मुद्दा लग्ने बाटो भने खुल्ला रहेको छ ।

सोही प्रयोजनका लागि सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि जोशीलाई रुपन्देही लगिएको हो । सुप्रिमका १ हजार ८३१ बचतकर्ताले सहकारीका पूर्वअध्यक्ष राई, वर्तमान अध्यक्ष ओमप्रकाश गुरुङ सहितका पदाधिकारी, सञ्चालक तथा कर्मचारीहरूले एक अर्ब बढी रकम अपचलन गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । ती उजुरीहरूको आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको हो ।

प्रहरीको अनुसन्धान प्रतिवेदन अनुसार सर्वसाधारणबाट जम्मा गरेको १ अर्ब ३१ करोड मध्ये ८६ करोड १८ लाख बढी रकम राई र गुरुङको समूहले अपचलन गरेको छ ।

प्रतिकृया दिनुहोस्