विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहको झडपमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या तीन पुगेको छ । १० साउन राति प्रहरीले चलाएको गोली लागेर घाइते भएका देवानगञ्ज-३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार मंगलबार बिहान मेहताको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले मेहताको मृत्युको खबर आएको बताए । ‘हामीले पनि भर्खरै थाहा पायौं’, उनले भने,‘ टिचिङ अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।’
१० साउनमा दुई समुदायबीचको झडपमा प्रहरीले चलाएको गोली लागेर १० जना गम्भीर घाइते भएका थिए । घाइतेमध्ये देवानगञ्ज-४ का २५ वर्षीय ओमप्रकाश मेहताको सोही दिन मृत्यु भएको थियो । देवानगञ्ज-३ का २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा बिहीबार दिउँसो न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको थियो ।
शुक्रबार बिहान सरकारसँगको सातबुँदे सहमति पछि दुवै जनाको शव गोली लागेकै स्थानमा अन्त्येष्टि गरिएको थियो । यही घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रहरी गोली चलाउँदा गणेश यादवको पनि मृत्यु भएको थियो ।
बायाँ तिघ्रामा गोली लागेर गम्भीर घाइते रवीन्द्रकुमार मेहतालाई विराट नर्सिङ होमबाट थप उपचारका लागि शुक्रबार काठमाडौंको टिचिङ अस्पताल लगिएको थियो । टिचिङमा उपचारका क्रममा रवीन्द्रको बायाँ खुट्टा काटिएको थियो ।
देवानगञ्ज गोली काण्डका अर्का घाइते देवानगञ्ज-३ का १८ वर्षीय अमित यादवको काठमाडौंकै ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनलाई हात र कोखमा गोली लागेको थियो । नोबेल शिक्षण अस्पतालबाट उनलाई नेपाली सेनाको स्काई ट्रकमार्फत बिहीबार काठमाडौं लगिएको थियो ।
सो घटनामा गोली लागेर गम्भीर घाइते भएका देवानगन्ज–४ का १८ वर्षीय मिथिलेश मेहता, २२ वर्षीय हरेराम यादव र देवानगन्ज–३ का १८ वर्षीय अमलेश मेहताको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । मिथिलेशको पेटमा गोली लाग्दा आन्द्रा बाहिर निस्किएको थियो । उनको शल्यक्रिया गरेर गोली निकालिएको छ ।
हरेरामको तिघ्राको माथिल्लो भागमा गोली लागेको थियो । अमलेशको बायाँ पिठ्युँमा गोली लागेको थियो । देवानगन्ज–३ का २५ वर्षीय सुनील मेहता, देवानगन्ज–४ का १८ वर्षीय अमितकुमार यादव र २६ वर्षीय सुनील मेहताको विराट नर्सिङ होममा उपचार भइरहेको छ ।
अमितकुमारको कम्मरमा गोली लागेको थियो । २६ वर्षीय सुनीलको बायाँ हातको कुहिनामा गोली लागेको थियो । २५ वर्षीय सुनिलको खुट्टामा गोली लागेको थियो ।