काठमाडौं । गृहमन्त्री सुधन गुरुङ ललितपुरको सातदोबाटोस्थित पौडी पोखरी परिसरमा निर्माण गरिएको ‘जेनजी स्मृति पार्क’ उद्घाटन नगरी फर्किएका छन् । जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा निर्माण गरिएको पार्कको औपचारिक रूपमा उद्घाटन गर्न उनी केहीबेर अघि सातदोबाटो पुगेका थिए ।
निर्माण गरिएका सालिकहरू आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको अनुहारसँग मेल नखाएको भन्दै परिवारजनले आपत्ति जनाएपछि उनी पार्क उद्घाटन नगरी फर्किएका हुन् ।
पार्क उद्घाटनमा सहभागी हुन पुगेका शहीदका आफन्तहरूले सालिकसँग शहीदहरूको अनुहार नमिलेको भन्दै असन्तुष्टि पोखेका थिए ।
उनीहरूले भनेका छन्, ‘निर्माण गरिएका सालिकसँग आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको अनुहारसँग मेल खाँदैन । शालिक बनाउन लापरबाही गरिएको छ ।’
उद्घाटन गर्न लागिएको जेनजी पार्कमा गत वर्षको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका ४५ जनाको शालिक निर्माण गरिएको छ ।
पौडी पोखरी परिसरको दुई रोपनी जग्गामा निर्माण गरिएको पार्कलाई शहीदहरूको स्मृति, राष्ट्रियता र सामूहिक स्मरणसँग जोड्ने गरी डिजाइन गरिएको सरकारले बताएको छ ।