×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

कालीगण्डकी करिडोरमा काम गर्ने दुई जना नदीमा मृत फेला

कालीगण्डकी करिडोरमा काम गर्ने दुई जना नदीमा मृत फेला

काठमाडौं । कालीगण्डकी नदीमा दुई जना पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पालपाका अनुसार बगनासकाली गाउँपालिकास्थित कालीगण्डकी नदीमा सिन्धुलीको गोलाचौर गाउँपालिका –६ का २६ वर्षीय भोजराज अस्लामी मगर र दाङको तुलसीपुर उपमहानगरपालिका–३ का ४५ वर्षीय तेजबहादुर रास्कोटीको शव फेला परेको हो ।

दुवै जना मृतक कालीगण्डकी करिडोर सडक खण्डमा काम गर्दै आएका कामदार रहेको प्रहरीले जनाएको छ ।

मृतक अस्लामी बगनासकाली गाउँपालिका–६ दर्पुकस्थित कालीगण्डकी करिडोर सडक खण्डको अस्थायी क्याम्पमा बसी सोही सडक खण्डमा डोजर अप्रेटरको काम गर्दै आए थिए ।

उनी गत फागुन २६ गते बेलुका खाना खाई साथीहरूसँगै क्याम्पमा सुतेकोमा २७ गते बिहान हेर्दा ओछ्यानमा नभएको र खोजतलास गर्दा ५ दिनपछि शनिबार राति मृत अवस्थामा भेटिएका हुन् ।

अस्लामीलाई खोजतलासको क्रममा माईचौरस्थित कालीगण्डकी नदीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

यस्तै अर्का मृतक रास्कोटी राम्दी–रानीमहल निर्माणाधीन कालीगण्डकी करिडोर सडकमा काम गर्दै आएकोमा नदी किनारमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।

उनलाई खोजतलास गर्ने क्रममा घटनास्थलदेखि दुई सय मिटर तल मृत अवस्थामा फेला पारिएको प्रहरी नायब उपरीक्षक मल्लले बताए । प्रारम्भिक अनुसन्धानपछि अस्लामीको शवलाई पोस्टमार्टमको लागि टिचिङ अस्पताल काठमाडौं र रास्कोटीको शवलाई पाल्पा अस्पताल पठाइएको छ ।

दुवै घटनाको विषयमा अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्