×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ

हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ

काठमाडौँ । सर्वसाधारणको हराएको सिमकार्ड प्रयोग गरी मोबाइल बैंकिङमार्फत लाखौँ रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बुधबार उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ४ घर भई हाल भक्तपुरको सिर्जनानगर बस्ने २६ वर्षीय रोशन पहाडी र डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ८ घर भई हाल ललितपुरको कुपण्डोल बस्ने २५ वर्षीय सुभाष ओझा रहेका छन्। प्रहरीले पहाडीलाई भक्तपुरको सल्लाघारीबाट र ओझालाई ललितपुरको एकान्तकुनाबाट नियन्त्रणमा लिएको हो।

प्रहरी अनुसन्धानका अनुसार पीडित कान्छी लामाको नाममा वि।सं। २०७० असोज २ गते एउटा सिमकार्ड जारी भएको थियो। लामाले तत्कालीन नेपाल क्रेडिट एण्ड कमर्स बैंक (हाल कुमारी बैंक) मा खाता खोल्दा सोही मोबाइल नम्बर प्रयोग गरी मोबाइल बैंकिङको सुविधा लिएकी थिइन्। उक्त नम्बर प्रयोग गरिरहेकै अवस्थामा करिब ६ वर्षपछि उनको सिमकार्ड हराएको थियो।

सोही हराएको नम्बर वि।सं। २०७८ चैत १२ गते रोशन पहाडीको नाममा जारी भएको देखिएको छ। सिमकार्ड पुनः सक्रिय भएपछि कान्छी लामाको बैंक खातामा जम्मा भएको रकमको सन्देश पहाडीको मोबाइलमा आउन थालेको थियो। 

त्यसपछि पहाडी र ओझाले मिलेर सोही नम्बरबाट कुमारी बैंकको मोबाइल बैंकिङ सेवा सुरु गरे। उनीहरूले विभिन्न व्यक्तिहरूलाई झुक्यानमा पारी बैंक खातामा रहेको रकम विभिन्न ईसेवा, खल्ती र अन्य व्यक्तिहरूको बैंक खातामा ट्रान्सफर गर्न लगाएर रकम झिक्ने गरेको खुलेको छ।

उनीहरूले वि।सं। २०८० असार २० गतेदेखि २०८२ असोज ९ गतेसम्मको अवधिमा मोबाइल बैंकिङको दुरुपयोग गरी जम्मा २४ लाख ४७ हजार ५२८ रुपैयाँ विभिन्न बैंक खाता तथा डिजिटल वालेटहरूमा पठाएर हिनामिना गरेको प्रहरीले जनाएको छ। कान्छी लामाले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीले जानकारी दिए। 

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ।
 

प्रतिकृया दिनुहोस्