×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

हामीले भोगेको विपद् पूँजीवादी देशहरूले गरिब देशहरूमाथि गरेको अन्यायको परिणाम हो : प्रचण्ड

हामीले भोगेको विपद् पूँजीवादी देशहरूले गरिब देशहरूमाथि गरेको अन्यायको परिणाम हो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवा र नुवाकोटमा गएको प्रलयकारी बाढीबाट भएको क्षतिमा जलवायु परिवर्तन र विकसित पूँजीवादी देशहरूको गलत विकास मोडेल जिम्मेवार रहेको बताएका छन् । 

मंगलबार नुवाकोटमा बाढीपीडितलाई अस्थायी आवास हस्तान्तरण कार्यक्रममा बोल्दै प्रचण्डले बाढीलाई प्राकृतिक विपद्का रूपमा मात्र बुझ्न नहुने बताए ।

‘धेरैले भन्छन् यो प्राकृतिक विपद् हो। तर यो रसुवा र नुवाकोटमा यो प्रलयकारी बाढी, अकल्पनीय क्षति, हजारौंको ज्यान गयो, अर्बौं–खर्बौंको सम्पत्ति नष्ट भयो, यो कुनै प्राकृतिक विपद्को कारणले मात्रै भएको होइन,’ उनले भने । 

उनले विकसित पूँजीवादी देशहरूले अपनाएको विकास मोडेल र गरिब देशहरूमाथि गरिएको विभेद तथा अन्यायका कारण नेपालजस्ता देशले ठूलो क्षति बेहोर्नुपरेको बताए ।

‘आजको संसारको विकासको मोडेल, ठूलठूला विकसित पूँजीवादी देशहरूले जस्तो बनाए र हामीजस्ता गरिब देशहरूमाथि जसरी विभेद, अन्याय गरेका छन्, त्यसको परिणाम हो,’ उनले भने । 

उनले जलवायु परिवर्तनका कारण नेपालमा आउन सक्ने विपद्बारे आफूले प्रधानमन्त्री हुँदा नै सचेत गराएको उल्लेख गरे। कार्बन उत्सर्जनमा कम योगदान गर्ने तर वनजङ्गल र हरियालीमार्फत कार्बन नियन्त्रणमा सहयोग गर्ने नेपालजस्ता देशलाई जलवायु न्याय दिनुपर्ने उनको भनाइ थियो । 

‘जसले जुन देशले कार्बन उत्सर्जनमा खासै गरेका छैनन्, बरु जङ्गल र हरियालीका कारण पूँजीपति र ठूलठूला धनी भनिने देशहरूले उत्सर्जन गरेको कार्बनलाई कन्ट्रोल गर्न सहयोग गरेका छन्, उनीहरूलाई न्याय दिने भनेको अर्बौं हामीलाई खर्बौं दिएर नेपालमा जलवायु परिवर्तनबाट हुनसक्ने विपत्ति रोक्ने भन्ने थियो। तर उनीहरूले कमिटमेन्ट त गरे तर प्रतिबद्धता गरेअनुसार उनीहरूले सहयोग गरेनन्,’ उनले भने । 

उनले आफू प्रधानमन्त्री हुँदा संयुक्त राष्ट्रसङ्घका महासचिवलाई नेपाल बोलाएर हिमाल पग्लिँदै गएको र जलवायु परिवर्तनले नेपाली जनतामा पारेको असरबारे जानकारी गराएको पनि बताए ।

‘हिमाल हेर्नुस् तपाईं आफ्नै आँखाले, पग्लिँदैछ हिमाल, सेतो हिमाल कालो बन्दैछ, र नेपालको जलवायु परिवर्तनले जनतालाई निकै ठूलठूला क्षति पुर्‍याएको छ,’ महासचिवलाई आफूले भनेको स्मरण गर्दै उनले बताए ।

उनले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न विकसित देशहरूले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिए । शक्तिशाली देशहरूले अपनाएको गलत नीतिका कारण नेपाललगायतका देशले यस किसिमको क्षति बेहोर्नुपरेको उनको भनाइ थियो । 

बाढीपछि खोज, उद्धार र राहतमा पार्टीका सबै समिति, जनप्रतिनिधि तथा वाईसीएललगायत जनवर्गीय सङ्गठनलाई परिचालन गर्न आफूले निर्देशन दिएको पनि प्रचण्डले बताए ।

‘शायद तपाईंहरूले हेर्नुभयो होला, भिडियो सन्देशमार्फत तत्काल खोज, उद्धार र राहतमा लाग्न पार्टीका सबै समितिहरूलाई, जनप्रतिनिधिहरूलाई, वाईसीएललगायतका जनवर्गीय सङ्गठनलाई निर्देशन दिने पहिलो व्यक्ति पनि मै हुन पुगेछु,’ उनले भने । 

बाढी प्रभावित क्षेत्रमा वाईसीएल नेपालले सरसफाइ गर्ने, प्राप्त सामग्री सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गर्ने र अस्थायी आवास निर्माणमा सहयोग गर्ने घोषणा गरेको स्मरण गर्दै उनले अस्थायी आवास हस्तान्तरण कार्यक्रममा सहभागी हुन पाएकोमा खुसी व्यक्त गरे । 

यसैबीच, प्रचण्डले बाढीपीडितको अस्थायी आवास निर्माण, पुनर्स्थापना र पुनर्निर्माणमा सरकारको तत्परता पर्याप्त नभएको आरोप लगाए ।

‘सरकारको तत्परता, राज्यको तत्परता धेरै महत्वपूर्ण कुरा हो तर यहाँ देखिएन। अस्थायी आवास निर्माणको कुरा होस् या अब पुनर्स्थापना र पुनर्निर्माणको कुरामा पनि जुन तत्परता सरकारको तर्फबाट देखिनुपर्ने हो, त्यति देखिएको छैन,’ उनले भने । 

सरकारलाई प्रभावित नागरिकको पुनर्स्थापना र पुनर्निर्माणमा जिम्मेवार बनाउन सबैले आवाज उठाउनुपर्ने उनको भनाइ थियो ।

प्रतिकृया दिनुहोस्