टोकियो । जापानको राजधानी टोकियोसहित पूर्वी क्षेत्रमा शक्तिशाली टाइफुन (शक्तिशाली समुद्री आँधी) को प्रभाव बढ्दै गएको छ । ‘डुजुआन’ नाम दिइएको टाइफुनका कारण तीव्र हावा र भारी वर्षा भइरहेको छ । जोखिम बढेपछि जापानी अधिकारीहरूले विभिन्न क्षेत्रमा उच्चसतर्कता अपनाएका छन् ।
डुजुआन जापानको पूर्वी तटतर्फ अघि बढ्दै गर्दा टोकियोमा सोमबार दिनभर भारी वर्षा भएको छ । मौसमविद्का अनुसार वर्षा र हावाको प्रभाव आगामी केही घण्टामा अझ बढ्न सक्ने भएकाले स्थानीय बासिन्दालाई सतर्क रहन तथा आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।
टाइफुनको केन्द्र जापानको मुख्य भूभागभन्दा केही पर समुद्रमै रहने अनुमान गरिए पनि होन्सुको पूर्वी तटमा ९० किलोमिटर प्रतिघण्टाभन्दा बढीको वेगले हावा चल्ने अनुमान छ । टोकियोमा समेत करिब ७५ किलोमिटर प्रतिघण्टासम्मको हावाको गति पुग्न सक्ने अनुमान गरिएको छ ।
डुजुआनको केन्द्र वरपर हावाको गति करिब १३० किलोमिटर प्रतिघण्टा रहेको र झोक्का १९४ किलोमिटर प्रतिघण्टासम्म पुगिरहेको बताइएको छ ।
एसियाली खेलकुदमा पनि असर
टाइफुन डुजुआन जापानले एसियाली खेलकुद आयोजना गरिरहेको समयमा आएको हो । नागोया र आइची प्रिफेक्चरमा एसियाली खेलकुदका कार्यक्रम भइरहेका छन् ।
सोमबारका लागि तय गरिएको घोडचढीसम्बन्धी प्रतियोगिता मंगलबारका लागि सारिएको रोयटर्सले जनाएको छ ।
जापानको टोलीका चिफ डे मिसन कोसेई इनोउले जापान ओलम्पिक कमिटीसँग आवश्यक तयारी र आपत्कालीन अवस्थाको सामना गर्ने विषयमा बैठक भइरहेको बताएका छन् ।
एसियाली खेलकुदका करिब ४ हजार सहभागी ‘कोस्टा सेरेना’ नामक क्रुज जहाजमा बसिरहेका छन् । टाइफुनको प्रभाव त्यस क्षेत्रमा पुगेमा जहाजलाई सुरक्षित स्थानमा सार्नुपर्ने र खतरा समाप्त भएपछि मात्र उक्त क्षेत्रमा फर्काउन सकिने बताइएको छ ।
झन्डै ५०० उडान रद्द, रेल सेवा प्रभावित
टाइफुनका कारण जापानको यातायात सेवामा समेत ठूलो असर परेको छ । टोकियोका हानेदा र नारिता विमानस्थलबाट सञ्चालन हुने झन्डै ५०० उडान रद्द भएको उड्डयन ट्र्याकिङ सेवा फ्लाइटराडार–२४ ले जनाएको छ ।
केही बुलेट ट्रेन सेवा पनि स्थगित गरिएको छ । रेल सञ्चालक जेआरले यात्रुलाई सावधानी अपनाउन आग्रह गरेको छ । शिन्कान्सेनका प्रवेशद्वारमा यात्रुको भीड देखिएको बताइएको छ ।
टाइफुनका कारण चिबा शहरमा आयोजना भइरहेको ‘रक इन जापान’ संगीत महोत्सवका सोमबारका कार्यक्रम रद्द गरिएको छ । भिडियो गेमसम्बन्धी ठूलो कार्यक्रम ‘टोकियो गेम शो’को सोमबारको कार्यक्रम पनि रद्द गरिएको छ ।
जापानमा अहिले पाँचदिने सार्वजनिक बिदाको समय रहेकाले टाइफुनका कारण यात्रु तथा पर्यटकको आवागमनसमेत प्रभावित भएको छ ।
प्रधानमन्त्रीको अमेरिका भ्रमण पनि प्रभावित
टाइफुनको प्रभावका कारण प्रधानमन्त्री साने ताकाइचीको अमेरिका भ्रमणसमेत प्रभावित भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार उनले टाइफुनबाट उत्पन्न अवस्थाको निगरानी गर्न भ्रमण केही ढिला गरेकी छन् ।
ताकाइची मंगलबार न्यूयोर्क पुगेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने तथा संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने कार्यक्रम थियो । उनको न्यूयोर्क जाने उडान चार घण्टा ढिला गरी सोमबार राति ११ बजेका लागि सारिएको बताइएको छ ।
जापानमा यस वर्ष असामान्य मौसम
डुजुआनको प्रभाव जापानमा यस वर्ष देखिएको असामान्य मौसमको अर्को उदाहरण बनेको छ ।
केही महिनाअघि जापानका विभिन्न क्षेत्रमा अभूतपूर्व गर्मीको लहर चलेको थियो । जुलाईको अन्त्यतिर देशका केही स्थानमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो । अत्यधिक गर्मीका कारण दशौं हजार मानिस उपचारका लागि अस्पताल पुगेका थिए ।
टोकियोको एक चिडियाखानामा समेत अत्यधिक गर्मीका कारण केही सिंह मरेका थिए । त्यसपछि भने तापक्रम घट्दै गए पनि जापानमा भारी वर्षा र शक्तिशाली आँधीको जोखिम बढेको छ ।
गत महिना ट्रपिकल स्टर्म चान–होमले दक्षिणी इबाराकी प्रिफेक्चरमा प्रवेश गर्दा टोकियोको उत्तरपूर्वी क्षेत्रमा शक्तिशाली हावा र वर्षा भएको थियो ।
२५० मिलिमिटरसम्म वर्षाको सम्भावना
जापानको मौसम विज्ञान निकायले टाइफुनको प्रभावका कारण कान्तो क्षेत्रमा सोमबार दिनभर भारी र निरन्तर वर्षा हुने चेतावनी दिएको छ । केही स्थानमा २५० मिलिमिटरसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
यति ठूलो वर्षाका कारण नदीको जलस्तर बढ्नुका साथै बाढी र पहिरोको जोखिम उच्च हुने अधिकारीहरूले बताएका छन् ।
टोकियोको मेगुरो क्षेत्रमा मेगुरो नदीको जलस्तर तीव्र रूपमा बढेको स्थानीय बासिन्दाले बताएका छन् । नदी करिब ८ किलोमिटर लामो छ र विभिन्न आवासीय क्षेत्र हुँदै टोकियो खाडीमा पुग्छ ।
मेगुरोका बासिन्दाले मोबाइल फोनमा लगातार नदी तथा पानीबाट टाढा रहन र आवश्यक परे सुरक्षित स्थानमा जान चेतावनीका सन्देश प्राप्त भइरहेको बताएका छन् । उनीहरुका अनुसार केही घण्टामै नदीको पानीको सतह उल्लेख्य रूपमा बढेको थियो ।
भारी वर्षाका कारण टोकियोका सडक र सार्वजनिक यातायातमा समेत प्रभाव परेको छ । शिबुयातर्फ जाने बस र रेलमा यात्रुको चाप सामान्यभन्दा निकै कम देखिएको स्थानीय बासिन्दाले बताएका छन् ।
टोकियोमा पनि उच्चस्तरीय सतर्कता
राजधानी टोकियोको मेगुरो क्षेत्रमा बाढी र पहिरोका लागि पाँच तहको चेतावनी प्रणालीअन्तर्गत लेभल–४ चेतावनी जारी गरिएको छ । केन्द्रीय टोकियोमा भने लेभल–३ चेतावनी लागू गरिएको छ ।
लेभल–३ अन्तर्गत ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा जोखिममा रहेका अन्य व्यक्तिलाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा जान आग्रह गरिन्छ ।
यसैबीच टोकियो अन्तर्गतका केही क्षेत्रमा दुर्लभ रूपमा मोबाइल फोनमार्फत प्रत्यक्ष आपत्कालीन सन्देश पठाइएको छ ।
इजु द्वीपसमूह र ओशिमा क्षेत्रमा भने सबैभन्दा उच्च लेभल–५ चेतावनी जारी गरिएको छ । ओशिमा नगरका करिब १,९०१ घरधुरीका ३,०२० जनालाई लेभल–५ चेतावनीअन्तर्गत राखिएको छ ।
प्रधानमन्त्री साने ताकाइचीले पनि नागरिकलाई सरकारी निकायले जारी गरेका उद्धार तथा सुरक्षित स्थानमा जाने निर्देशन पालना गर्न आग्रह गरेकी छन् ।
चिबामा पहिरो
टाइफुनको प्रभावका बीच चिबा प्रान्तमा पहिरो जाँदा ४० वर्ष आसपासकी एक महिला सामान्य घाइते भएकी स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारी वर्षाका कारण चिबाका विभिन्न सडक डुबानमा परेका छन्। बाढी, भारी वर्षा र पहिरोसम्बन्धी चेतावनी जारी गरिएको छ । डुजुआन यही क्षेत्र हुँदै अघि बढ्ने अनुमान गरिएकाले जोखिम थप बढेको छ ।
यसअघि पनि चिबा प्रान्तमा भारी वर्षाबाट प्रभावित भएको थियो । गत महिना भएको अत्यधिक वर्षाका कारण आठ जनाको मृत्यु भएको थियो भने २२ वटा नगरपालिकामा बाढी आएको थियो । त्यसबेला उच्च तहको आपत्कालीन चेतावनीसमेत जारी गरिएको थियो ।
यस वर्ष प्रशान्त क्षेत्रमा धेरै सक्रिय टाइफुन
उत्तरपश्चिमी प्रशान्त क्षेत्रमा यस वर्ष टाइफुनको गतिविधि असामान्य रूपमा सक्रिय देखिएको छ । अगस्टमा प्रकाशित ‘ट्रपिकल स्टर्म रिस्क’को प्रतिवेदनअनुसार यस वर्ष टाइफुन विकास ऐतिहासिक औसतभन्दा करिब ६० प्रतिशत बढी हुनसक्ने अनुमान गरिएको थियो ।
यसको एक कारण बलियो हुँदै गएको एल निनो जलवायु घटना रहेको प्रतिवेदनमा उल्लेख गरिएको थियो । एल निनोले विश्वका विभिन्न क्षेत्रमा मौसमको ढाँचा परिवर्तन गर्दै कतै खडेरी र कतै शक्तिशाली आँधी तथा बाढीको जोखिम बढाउन सक्छ ।
डुजुआन यस वर्ष उत्तरपश्चिमी प्रशान्त क्षेत्रमा बनेको २५औँ टाइफुन भएको बताइएको छ ।
टाइफुनको केन्द्र जापानको मुख्य भूभागभन्दा बाहिरबाट अघि बढ्ने अनुमान गरिए पनि भारी वर्षा, तीव्र हावा, नदीको जलस्तर वृद्धि, बाढी र पहिरोका कारण टोकियोसहित कान्तो क्षेत्रमा जोखिम उच्च रहेको अधिकारीहरूले बताएका छन् ।
जापानी अधिकारीहरूले नागरिकलाई नदी तथा तटीय क्षेत्रबाट टाढा रहन, स्थानीय आपत्कालीन सूचना निगरानी गर्न र आवश्यक परे तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेका छन् ।