काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजाल उपसभापति पदमा प्रतिस्पर्धा गर्ने भएका छन् । उनले आज बिहान आफ्नो निवासमा आफू निकटका नेता–कार्यकर्ताहरुसँगको छलफलमा सो जानकारी गराएका हुन् ।
डा. रिजाल मोरङ क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए । त्यतिबेलैदेखि उनले उपसभापति पदमा प्रतिस्पर्धा गर्ने चर्चा चलेको थियो । तर रिजाल आफैंले भने आफूलाई कुनै पनि पदको आकांक्षा नभएको बताएका थिए ।
कांग्रेसको १५ औँ महाधिवेशनमा आज मनोनयन दर्ताको कार्यक्रम सुरु हुनुभन्दा केही समय अगाडिमात्रै रिजालले उपसभापति पदमा प्रतिस्पर्धा गर्ने निष्कर्षमा पुगेका हुन् ।