काठमाडौं । सरकारसँग ६ बुँदे सहमति भएपछि चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले एक सातादेखि जारी अनशन तोडेका छन् । यो उनको २५ औं सत्याग्रह हो ।
शुक्रबार मध्यराति सरकार र डा. केसीबीच सहमति भएको हो । सहमतिपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जुस पिलाएर उनको अनशन तोडाएका हुन् ।
सहमतिअनुसार नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको आर्मी मेडिकल कलेजमा एमबीबीएस सिट संख्या थप गर्ने निर्णय मापदण्डअनुसार भए–नभएको छानबिन गरिनेछ । यसका लागि प्रा. डा. रमेशप्रसाद आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिने भएको छ ।
चिकित्सा शिक्षा आयोगले गत असोज ३० गते गरेको निर्णयअनुसार सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई एमबीबीएसलगायत शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति र सिट निर्धारण गर्ने विषय पनि सहमतिमा समेटिएको छ ।
छानबिन समितिले सरकारलाई प्रतिवेदन बुझाउनेछ । सरकारले प्रतिवेदनका सिफारिस कार्यान्वयन गरेपछि चिकित्सा शिक्षा साझा प्रवेश परीक्षाबाट उत्तीर्ण विद्यार्थीको म्याचिङ प्रक्रिया अघि बढाइनेछ ।
कार्यक्रम सञ्चालनको अनुमति दिँदा वा सिट थप गर्दा निर्धारित मापदण्ड पालना नभएको अथवा स्वार्थको द्वन्द्व देखिएमा त्यसमा संलग्न चिकित्सा शिक्षा आयोग, विश्वविद्यालय र मेडिकल कलेजका पदाधिकारीलाई कारबाहीको दायरामा ल्याउने सहमति भएको छ ।
त्यस्तै, दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ मा विश्वविद्यालयका पदाधिकारीको योग्यता र नियुक्तिसम्बन्धी व्यवस्था संशोधन गरिने भएको छ । त्यसका लागि दुई साताभित्र मन्त्रिपरिषद्बाट अध्यादेश जारी गर्ने प्रक्रिया अघि बढाइने र अध्यादेश जारी भएपछि नयाँ पदाधिकारी नियुक्ति प्रक्रिया तत्काल सुरु गरिने सहमतिमा उल्लेख छ । यसमा डा. केसीले दिएका सुझाव समेटिनेछन् ।
सरकारले डा. केसीको २४ औं सत्याग्रहका क्रममा गत साउन ११ गते भएको सहमतिमा कार्यान्वयन हुन बाँकी बुँदा पनि अक्षरशः पालना गर्ने प्रतिबद्धता जनाएको छ ।
सहमति कार्यान्वयनको अनुगमन गर्न दुवै पक्षका प्रतिनिधि सम्मिलित कार्यदल गठन गरिनेछ । कार्यदलमा शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार शैलेन्द्र झा, एक सहसचिव, डा. केसीका तर्फबाट विजयबाबु शिवाकोटी र डा. अमृत जैसी रहनेछन् । त्यस्तै, सांसद पुकार बम र नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. बद्री रिजाल पनि कार्यदलमा रहनेछन् । कार्यदलले महिनामा कम्तीमा एक पटक बैठक गर्नेछ ।
सरकारले डडेलधुरा, इलाम र उदयपुरमा सरकारी मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न बजेट विनियोजनसहित पूर्वाधार विकासको काम अघि बढाउने भएको छ । बर्दिबासमा मेडिकल कलेज स्थापना तथा सञ्चालनको प्रक्रिया पनि तत्काल अगाडि बढाउने सहमति भएको छ ।
यी सहमतिपछि डा। केसीले आज (कात्तिक २१ गते) देखि सत्याग्रहका सम्पूर्ण कार्यक्रम अन्त्य गर्ने घोषणा गरेका छन् ।