काठमाडौँ । सामसङले नेपाली उपभोक्ताका लागि ‘ग्यालेक्सी जेड फोल्ड सेभेन’ र ‘ग्यालेक्सी जेड फ्लिप सेभेन’ को प्रि-अर्डर खुला गरेको छ । कम्पनीले आगामी २९ साउनसम्म पाँच हजार रुपैयाँ तिरेर बुक गर्न मिल्ने सुविधा ल्याएको हो ।
ग्यालेक्सी जेड फोल्ड सेभेनलाई हालसम्मकै सबैभन्दा पातलो र हलुका फोल्ड सिरिजको फोनको रूपमा प्रस्तुत गरिएको छ । यसमा आकर्षक डिजाइन, उच्चस्तरीय क्यामेरा र एआई प्रविधिको संयोजन रहेको कम्पनीले जनाएको छ ।
यो फोन पट्याउँदा सामान्य स्मार्टफोनजस्तो देखिन्छ भने खोल्दा एउटा ट्याब्लेटजस्तै ठुलो र फराकिलो स्क्रिनमा परिणत हुन्छ । जसले एकैपटक धेरै काम गर्न (मल्टी-टास्किङ) र भिडिओ हेर्न उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार, यसको मुख्य डिस्प्ले अघिल्लो संस्करण (जेड फोल्ड सिक्स) भन्दा ११ प्रतिशत ठुलो छ । फोनमा २०० मेगापिक्सेलको मुख्य क्यामेरा छ । ब्याट्रीको क्षमता उस्तै भए पनि सफ्टवेयर सुधारका कारण यसले लामो समयसम्म काम गर्नेछ ।
ग्यालेक्सी जेड फ्लिप सेभेनलाई पनि दैनिक प्रयोगका लागि सहज हुने गरी बनाइएको छ । यसको मुख्य आकर्षण भनेको बाहिरी भागमा रहेको ४.१ इन्चको ठुलो फ्लेक्सविन्डो (FlexWindow) स्क्रिन हो । यो स्क्रिनबाट फोन नखोलीकनै विभिन्न एप चलाउन र आवश्यक काम गर्न सकिन्छ ।
यसको मुख्य क्यामेरामा स्टेबलाइजेसन (stabilization) र कलरको गुणस्तरमा सुधार गरिएको छ भने तापक्रम व्यवस्थापन (thermal management) र सफ्टवेयरमा गरिएको सुधारले ब्याट्रीको आयु लामो हुने बताइएको छ ।
मूल्य, प्रि-अर्डर अफर र प्रक्रिया
नेपालमा २५६ जीबी भेरियन्टमा उपलब्ध गराइएको जेड फोल्ड सेभेनको मूल्य दुई लाख ४४ हजार ९९९ रुपैयाँ र जेड फ्लिप सेभेनको मूल्य एक लाख ५४ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
ग्यालेक्सी जेड फोल्ड सेभेन प्रि-अर्डर गर्ने ग्राहकले २५६ जीबीको मूल्यमा सित्तैमा ५१२ जीबीमा मेमोरी अपग्रेड पाउनेछन् । यसका साथै, कम्पनीले ३१ हजार ९९९ रुपैयाँ पर्ने ‘बड्स थ्री प्रो’ पनि उपहार स्वरूप प्रदान गर्नेछ ।
ग्यालेक्सी जेड फ्लिप सेभेन प्रि-अर्डर गर्नेहरूले २२ हजार ९९९ रुपैयाँ मूल्यको ‘बड्स थ्री’ उपहार पाउनेछन् ।
यसबाहेक, सामसङले एनएलजी इन्स्योरेन्स कम्पनीमार्फत एक वर्षको लागि एक पटकको ब्रेकेज इन्स्योरेन्सको सुविधा पनि दिनेछ । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडसँगको सहकार्यमा देशभरका आधिकारिक सामसङ स्टोरहरूबाट नागरिकताको आधारमा शून्य प्रतिशत ब्याजदरमा सहज किस्ताबन्दीको सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
प्रि-अर्डर गर्ने तरिका
१. सामसङको आधिकारिक प्रि-अर्डर वेबसाइटमा जाने ।
२. आफ्नो रोजाइको रिटेलर चयन गरी ५,००० रुपैयाँ अग्रिम भुक्तानी गर्ने ।
३. ग्राहकले आफ्नो मोबाइलमा एक ओटिपी प्राप्त गर्नेछन् ।
४. छानेको रिटेल स्टोरमा गएर ओटिपी भेरिफाई गरेपछि नयाँ ग्यालेक्सी जेड फ्लिप सेभेन र जेड फोल्ड सेभेन फोन बुक गर्न सकिनेछ ।