काठमाडौं । यतिबेला सूचीकृत कम्पनीहरू धमाधम लाभांश घोषणा गर्दै साधारणसभा तयारीमा छन् ।
आर्थिक वर्ष समाप्त भएको ६ महिना (पुस) भित्र साधारणसभा सम्पन्न गरिसक्नुपर्ने व्यवस्था छ । लाभांश दिन सक्ने क्षमता भएका कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरिरहेका छन् ।
तिहारअघि नै लाभांश घोषणा गरिसकेका तर, तिहारपछि सेयर किन्दा पनि लाभांश पाइने अझै १७ कम्पनी छन् । कम्पनीहरूले पहिले लाभांश घोषणा गर्छन्, त्यसपछि ‘बुक क्लोज’ तथा साधारणसभा बस्ने मिति तय गर्दछन् । बुक क्लोज नहुँदासम्म सेयर किन्दा घोषित लाभांश पाइन्छ । यिनै सूचीकृत १७ कम्पनीको बुक क्लोज मिति तय नभइसकेकाले सेयर किन्दा लाभांश पाइने भएको हो ।
यसरी लाभांश घोषणा गरेका तर बुक क्लोज नभइसकेका वा तिहारपछि सेयर किन्दा लाभांश पाइने कम्पनीमा ३ वटा वाणिज्य बैंक छन् । त्यस्तै २ विकास बैंक, १ उत्पादन तथा प्रशोधन समूहको, ६ जलविद्युत् कम्पनी र ५ लघुवित्त कम्पनी छन् ।
केही कम्पनीले बोनस सेयर, केहीले नगद लाभांश र केहीले मिश्रित लाभांश घोषणा गरेका छन् । नगद लाभांश साधारणसभा सम्पन्न हुनेवित्तिकै कम्पनीले सेयधनीको बैंक खातामा जम्मा गर्न सुरु गर्दछन् । सामान्यत घोषित १ प्रतिशतभन्दा कम नगद लाभांश भने बोनस सेयरको कर प्रयोजनका लागि मात्रै हुनेछ ।
बोनस सेयर जम्मा हुने हकमा थप केही बढी समय लाग्दछ । धितोपत्र बोर्डमा दर्ता भएपछि मात्रै डिम्याट खातामा बोनस सेयर जम्मा हुन्छ । बोनस सेयरका हकमा बढेको सेयर संख्याअनुसार मूल्य पनि बुक क्लोजका दिन समायोजन (घट्ने) हुन्छ ।
यी हुन् तिहारपछि सेयर किन्दा लाभांश पाइने कम्पनी
| कम्पनी | बोनस सेयर % | नगद लाभांश % | कुल लाभांश % |
| लक्ष्मी सनराइज बैंक | ५ | ०.२६ | ५.२६ |
| स्ट्यान्डर्ड चार्टर्ड बैंक | १६ | १६ | |
| एनएमबी बैंक | ७ | ७ | |
| महालक्ष्मी विकास बैंक | ३.७ | ३.७८ | ७.४८ |
| मितेरी डेभलपमेन्ट बैंक | ५ | ६ | ११ |
| युनिलिभर नेपाल | १५४० | १५४० | |
| अपी पावर | ५ | ०.२६३ | ५.२६३ |
| मकर जितुमाया सुरी | १३ | ०.६८४ | १३.६८४ |
| कुथेली बुखरी स्मल हाइड्रोपावर | १८ | ०.९४७ | १८.९४७ |
| सिक्लेस हाइड्रोपावर | १२.७०६ | ०.६६९ | १३.३७५ |
| मिड सोलु हाइड्रोपावर | १५ | ०.७८९ | १५.७८९ |
| युनाइटेड इदी मर्दी | ५ | ०.२६३ | ५.२६३ |
| छिमेक लघुवित्त | ११.९६३१ | १३.०३६९ | २५ |
| आरएसडीसी लघुवित्त | ९.४० | ९.४० | |
| हिमालयन लघुवित्त | ४.७५ | ०.२५ | ५.०० |
| फस्र्ट माइक्रोफाइनान्स | ११.०५२ | ११.०५२ | |
| ग्लोबल आईएमई लघुवित्त | ६ | ३.५० | ९.५० |
स्रोत – नेप्से