काठमाडौँ। हालैको अविरल वर्षा र बाढीपहिरोका कारण क्षतिग्रस्त बनेका मुख्य राजमार्गका पुलहरूलाई आउँदो दसैँअगावै मर्मत तथा पुनर्निर्माण गरी सञ्चालनमा ल्याइने सडक विभागले जनाएको छ। सडक विभाग अन्तर्गतको पुल महाशाखाले चाडपर्वका बेला सर्वसाधारणको आवागमन सहज बनाउन द्रुत गतिमा काम अघि बढाइएको जनाएको छ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो प्रतिवेदनमा गत बिहीबारदेखि परेको अविरल वर्षासँगै आएको बाढीले देशभर करिब १० वटा पुलमा क्षति पुगेको विवरण सार्वजनिक गरेको छ।
उक्त विवरणमा भएको पुलमध्ये स्थानीय सडक, मोटरेबल तथा अन्य पुलहरू समेत समावेश छन्। विभागले भने विशेषगरी रणनीतिक तथा मुख्य राजमार्गअन्तर्गतका पुलहरूलाई प्राथमिकतामा राखेर काम गरिरहेको पुल महाशाखाका प्रमुख ललिजन खनालले बताए।
महाशाखा प्रमुख खनालका अनुसार हाल कालीगण्डकी करिडोररराजमार्ग खण्डका पोखरेबगर, माल्ढुङ्गा र डेढगाउँका पुलहरूमा बाढीले क्षति पुर्याएको छ । ती पुलहरूमा तत्काल बेलीब्रिज राख्ने वा मर्मत गर्ने भन्ने प्राविधिक अध्ययनका लागि टोली फिल्डमै खटिएको छ।
‘दसैँ नजिकिँदै गरेकाले खरिद प्रक्रियाको कुनै पनि ढिलासुस्ती नगरी हामी ’युद्धस्तर’मा खटिएका छौँ,’ प्रमुख खनालले भने, ‘सडकको पहुँच पुगेसम्म दसैँअगावै यी पुलहरू पुनर्निर्माण गरी यातायात सञ्चालन गर्ने हाम्रो मुख्य लक्ष्य हो।’
यस्तै गत भदौ १० गतेको बाढीबाट प्रभावित रसुवागढी सडक खण्डको बेत्रावतीमा भने बेलीब्रिजको फाउन्डेसन (जग) निर्माणको काम करिब सम्पन्न भइसकेको विभागले जनाएको छ। आवश्यक निर्माण सामग्री ढुवानीका लागि बाटो खुल्नासाथ दसैँअगाडि नै बेत्रावतीमा बेलीब्रिज जडान गरिने उनले बताए।
यद्यपि, बेत्रावतीभन्दा माथि रसुवागढी खण्डमा भने सडक नै पूर्ण रूपमा बगेकाले त्यहाँ यातायात र पुल पुनर्स्थापना हुन अझै केही समय लाग्ने सडक विभागले जनाएको छ।