काठमाडौँ । इरानसँग जोडिएको युद्धका कारण विश्वभर खाद्य संकट झन् गहिरिने चेतावनी अन्तर्राष्ट्रिय निकायहरूले दिएका छन् । विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्रको विश्व खाद्य कार्यक्रमले संयुक्त वक्तव्य जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।
वक्तव्यमा तेल, प्राकृतिक ग्यास र मलको मूल्य तीव्र रूपमा बढ्दा खाद्य वस्तुको मूल्यसमेत महँगो हुने र सर्वसाधारणको पहुँच भोजनसम्म झन् कठिन बन्ने उल्लेख गरिएको छ ।
ती निकायहरूले मध्यपूर्व क्षेत्रमा भइरहेको द्वन्द्वले केवल त्यही क्षेत्र मात्र नभई विश्वभरका मानिसको जीवन र जीविकामा असर पारिरहेको बताएका छन् ।
खाद्य, इन्धन र मल आपूर्तिमा आएको अवरोधको सबैभन्दा ठूलो असर कमजोर वर्गमा पर्ने, विशेषगरी कम आय भएका र आयातमा निर्भर देशहरूमा यसको प्रभाव बढी देखिने जनाइएको छ ।
यदि वर्तमान अवस्था यथावत रहेमा विश्वव्यापी रूपमा खाद्य संकट अझै गहिरिने र महँगीको दबाब निरन्तर बढ्ने चेतावनीसमेत दिइएको छ ।