काठमाडौँ । निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म मात्रै मतदाता नामावली सङ्कलन गर्ने समय सीमा तोकेपछि निर्वाचन कार्यालयमा मतदाता परिचय पत्र बनाउनेको भीड लाग्न थालेको छ ।
तर मतदाता नामावलीमा नाम दर्ता गर्न अब राष्ट्रिय परिचयपत्र हुने नागरिक अब निर्वाचन आयोग जान नपर्ने भएको छ । राष्ट्रिय परिचयपत्र नम्बर भएका नागरिकले अनलाइनबाट नै मतदाता नामावलीमा नाम दर्ता गर्न मिल्ने निर्वाचन आयोगले जनाएको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार राष्ट्रिय परिचय पत्र औपचारिक रूपमा नै मतदाता नामावलीमा जोडिएको छ ।
राष्ट्रिय परिचयपत्र हुनेहरू अब नाम, ठेगाना, जन्म मिति, पारिवारिक विवरण, नागरिकता प्रमाणपत्र आदि विवरण भरेर समय लिएर बायोमेट्रिक दिन सम्बन्धित निर्वाचन कार्यालय धाउन नपर्ने भएको हो ।