×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

अर्थ/वाणिज्य

२० अंक घट्यो सेयर बजार

२० अंक घट्यो सेयर बजार

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक सोमबार २० अंक घटेको छ । नेपाल धितोपत्र बोर्डले ५ प्रतिशतभन्दा धेरै सेयर भएका संस्थापक लगानीकर्ताले जानकारी गराएर मात्र सेयर बिक्री गर्न पाउने व्यवस्थाले नेप्से निरन्तर घट्दै आएको छ ।

गत साता अन्तिम दिन शुक्रबार नेप्से सूचक ११ अंकले घटेको थियो । यो साताको पहिलो कारोबार दिन सोमबार नेप्से २०.४८ अंक घटेर २५६६.७६ अंकमा झरेको छ ।

नेप्से सूचकसँगै कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको नेप्सेले जनाएको छ । सोमबार नेप्सेमा ३ अर्ब २७ करोड रुपैयाँ बराबर मात्रै सेयर कारोबार भएको छ । सोमबार कारोबार सुरु भएदेखि निरन्तर घटेको नेप्से सूचक बन्द हुँदासम्म कायम रह्यो ।

केही दिनअघि धितोपत्र बोर्डले अन्य क्षेत्रका कम्पनीका संस्थापकले लकइन अवधि सकिएपछि सेयर बिक्री गरेर बाहिरिने क्रम बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न पूर्वस्वीकृतिको व्यवस्था गर्‍यो । त्यसले सेयर लगानीकर्ताको मनोबल कमजोर बनाएको बजारका सरोकारवाला बताउँछन् ।

बोर्डको उक्त व्यवस्था उपर पुनर्विचार गर्न प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिले पनि बोर्डलाई निर्देशन दिएको छ । तर, लगानीकर्ताको मनोबल फर्केको सोमबारको बजारले संकेत गर्दैन । साथै, लाभांशको सिजन भएकाले सेयर मूल्य समायोजनका कारण बजार सूचक नकारात्मक हुन योगदान गरेको छ ।

सोमबार नेप्सेमा ३२ कम्पनीको सेयर मूल्य बढेको छ । त्यसैगरी २ सय ४२ कम्पनीको सेयर मूल्य घटे पनि ४ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन । साथै, सोमबार नेप्सेमा कारोबार भएका अधिकांश समूहगत परिसूचक घटेका छन् ।

सोमबार बैंकिङ १०.७३, विकास बैंक २९.१६, वित्त २४.३६, होटल ७३.२८, जलविद्युत् ३६.९५, लगानी १.०१, जीवन बीमा ९३.८१, उत्पादनमूलक १०४.५१, लघुवित्त २७.२४, निर्जीवन बीमा ६०.९९ र अन्य समूह १६.६७ अंक घटेका छन् । तर, सोमबार व्यापार समूह भने १०.७१ अंक बढेको छ ।

सोमबार नेप्सेमा ३ सय ५९ कम्पनीको ४४ हजार ७ सय ७७ करोबारबाट ३ अर्ब २७ करोड रुपैयाँ बराबर ९० लाख कित्ता सेयर खरिद बिक्री भएको छ ।

यो कारोबार रकम गत साता अन्तिम कारोबार दिन शुक्रबारको तुलनामा थोरै हो । शुक्रबार नेप्सेमा ३ अर्ब ८९ करोड बराबर सेयर कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस्