काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सम्पूर्ण विभागहरूबाट दलीय विद्यार्थी सङ्गठनका भौतिक तथा साङ्गठनिक संरचनाहरू हटाउने प्रक्रिया अगाडि बढाएको छ। त्रिवि शिक्षाध्यक्षको कार्यालय अन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सम्पूर्ण विभागीय प्रमुखहरूलाई पत्र जारी गर्दै यस विषयमा निर्देशन दिएको हो।
विश्वविद्यालय अनुदान आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनात्मक पत्रका आधारमा त्रिविले यो कदम चालेको हो। शिक्षा क्षेत्रमा राजनीतिक दलको हस्तक्षेप अन्त्य गर्न, विद्यार्थीका वास्तविक समस्या र आवाजलाई सही ढङ्गले सम्बोधन गर्न तथा खस्कँदो शैक्षिक गुणस्तर सुधारका लागि यो निर्णय गरिएको निर्देशनालयका उप प्रशिक्षक सन्देश कुमार रेग्मीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।
निर्देशनअनुसार अबको ६० दिनभित्र विश्वविद्यालय तथा विद्यालय हाताभित्र रहेका दलीय विद्यार्थी सङ्गठनका संरचनाहरू पूर्ण रूपमा हटाइसक्नुपर्नेछ। त्यसैगरी, दलीय संरचना हटाइएको ९० दिनभित्र विद्यार्थीहरूको साझा र स्वतन्त्र प्रतिनिधित्व सुनिश्चित गर्नका लागि ‘स्टुडेन्ट काउन्सिल’ वा ‘भ्वाइस अफ स्टुडेन्ट’ नामक नयाँ संयन्त्रको विकास गरिने जनाइएको छ।
निर्देशनालयले यस कार्यलाई तोकिएको समय सीमाभित्रै सम्पन्न गरी सोको जानकारी यथाशीघ्र उपलब्ध गराउन समेत सबै विभागहरूलाई निर्देशनानुसार अनुरोध गरेको छ। यो निर्णय कार्यान्वयनका लागि उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारको कार्यालयलाई समेत बोधार्थ पठाइएको छ।