काठमाडौं । निर्वाचनमा भएको भनिएको अनियमितताविरुद्ध सोमबार भारतको नयाँदिल्लीमा विपक्षी सांसदहरूले प्रदर्शन गरेका छन् । निर्वाचन आयोगको कार्यालय अघि प्रदर्शन गर्न गएका सांसद्हरूलाई प्रहरीले धरपकड गरेको छ । कंग्रेसका नेता राहुल गान्धीसहितका नेताहरू पक्राउ परेका छन् ।
विपक्षी सांसदहरूले ‘मत चोरी’ आरोप लगाएका छन् । निर्वाचन आयोगमाथि बीजेपीसँग मिलेर निर्वाचन परिणामलाई तोडमोड गरेर सत्तामा पुर्याउने प्रयास गरेको उनीहरूको आरोप छ ।
समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवसहित केही सांसदहरूले अवरोध तोड्दै बेरिकेड नाघेका थिए । अव्यवस्था, नाराबाजी, पक्राउ र धर्नाबीच तृणमूल कांग्रेसका दुई सांसदहरू महुआ मोइत्रा र मिताली बाउघ बेहोस भएका थिए ।
लोकसभा विपक्षका नेता राहुल गान्धीसहित दर्जनौं विपक्षी सांसदहरूलाई बाटोमै रोकिएको थियो । पक्राउ परेका नेताहरूमा कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गे र जयराम रमेश पनि छन् ।
पक्राउ परेपछि राहुल गान्धीले पत्रकारहरूलाई भने, ‘यो लडाइँ राजनीतिक होइन, संविधान बचाउने लडाइँ हो । सत्य पुरै देशको अगाडि छ।’ कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले यो संघर्ष जनताको मतदान अधिकार जोगाउन हो भएकोले ‘बीजेपीको तानाशाही’ अब नचल्ने बताए ।
जुलुसमा सहभागी प्रमुख नेताहरूमा डिएमकेका टी. आर. बालु, शिवसेना (उद्धव ठाकरे समूह) का संजय राउत, तृणमूल कांग्रेसका डेरेक ओ’ब्रायन, कांग्रेस महासचिव प्रियंका गान्धी भड्रा, समाजवादी पार्टीका अखिलेश यादव, साथै डिएमके, आरजेडी, वाम दलहरूका सांसदहरू पनि थिए।