काठमाडौं । पासवर्ड व्यवस्थापन सफ्टवेयर कम्पनी ‘वनपासवर्ड’को ब्याकइन्ड प्रणाली ह्याक भएको छ । कम्पनीले बुधबार एक विज्ञप्ति जारी गर्दै घटनाका कारण केही ग्राहकको सीमित विवरण बाहिरिएको, तर पासवर्ड भल्ट र गोप्य जानकारी सुरक्षित रहेको दाबी गरेको छ ।
कम्पनीका अनुसार घटना नियन्त्रणमा लिन तत्काल कदम चालिए पनि आक्रमणकारीले केही ब्याकइन्ड प्रणालीमा छिरेर सीमित ग्राहकको नाम र ईमेल एड्रेससहितका खाता विवरणमा पहुँच बनाएका थिए ।
यद्यपि, ग्राहकका पासवर्ड, भल्ट सामग्री, अकाउन्ट रिकभरी की वा तिनलाई सुरक्षित राख्ने कीमा कुनै क्षति नपुगेको कम्पनीले दाबी गरेको छ । यस प्लेटफर्म प्रयोग गरिरहेका प्रयोगकर्ताले तत्काल कुनै कदम चाल्न नपर्ने जनाउँदै कम्पनीले फिशिङ प्रयासप्रति सतर्क रहन आग्रह गरेको छ ।
१९ नोभेम्बर २०२६ मा एक कर्मचारीको कर्पोरेट ‘गिटहब’ खातामा अज्ञात समूहले पहुँच बनाएपछि शंकास्पद गतिविधिमाथि अनुसन्धान सुरु गरिएको कम्पनीले जनाएको छ । आक्रमणकारीले उक्त खातामार्फत सोर्स कोडमा पहुँच बनाई ब्याकइन्ड सेवामा मालिसियस कोड पठाएको पाइएको छ ।
यसबाट ग्राहकका नाम, ईमेल ठेगाना, खाता खुलेको र अन्तिम पटक लग(इन गरेको समय जस्ता पहिचान विवरण, पब्लिक की तथा सेक्योर रिमोट पासवर्ड प्रोटोकल प्यारामिटर डाउनलोड भएका छन् । त्यस्तै, इन्भिटेसन, प्रोभिजनिङ र रिकभरी ईमेल लिङ्कमा रहेका टोकन र भर्सन तथा फाइल नम्बर जस्ता आन्तरिक मेटाडेटा पनि बाहिरिएको छ ।
ईमेल लिङ्कमा रहेका टोकनकै आधारमा ग्राहकको खातामा पहुँच पाउन नसकिने वनपासवर्डको भनाइ छ । खाता खोल्न सिङ्गल साइन(अन वा ईमेलमा आउने ६ अंकको भेरिफिकेसन कोड अनिवार्य हुन्छ । घटनाबाट थोरै संख्यामा प्रयोगकर्ता प्रभावित भएको र उनीहरूलाई व्यक्तिगत रूपमा जानकारी गराइसकिएको कम्पनीले उल्लेख गरेको छ ।
घटना लगत्तै कम्पनीले प्रभावित गिटहब खाता बन्द गरी चोरी भएको टोकन रद्द गरेको छ । गिटहब, सीआईरसीडी र इन्डपोइन्टको सुरक्षा कडा बनाइएको, प्रभावित सेवाको भर्सनलाई रिकभर गरिएको तथा आन्तरिक क्रेडेन्सियल परिवर्तन गरिएको कम्पनीले जनाएको छ । सावधानीका रूपमा इन्भिटेसन र रिकभरी ईमेलमा जाने कोडलाई ६ अंकबाट १० क्यारेक्टरको बनाइएको छ ।
आक्रमणकारीले निजी रिपोजिटरीबाट सोर्स कोड कपी गर्नुका साथै सीआईरसीडी प्रणालीमा पहुँच बनाएको स्वीकार गर्दै कम्पनीले सोर्स कोडमा ग्राहकको डेटा वा गोप्य जानकारी नरहने स्पष्ट पारेको छ । घटनाले सेवा, उपलब्धता वा उत्पादनको सुरक्षामा असर नपारेको वनपासवर्डको भनाइ छ । भल्टका विवरण प्रयोगकर्तासँग मात्र हुने कीबाट इन्क्रिप्ट हुने भएकाले त्यसमा कम्पनी वा सर्भरमा पस्ने आक्रमणकारी कसैको पनि पहुँच नपुग्ने कम्पनीले जनाएको छ ।