×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सूचना/प्रविधि

रियल टाइम क्षमतासहित गुगलको नानो बनाना २ सार्वजनिक

रियल टाइम क्षमतासहित गुगलको नानो बनाना २ सार्वजनिक

काठमाडौँ । प्रविधि कम्पनी गुगलले आफ्नो सबैभन्दा छिटो र उन्नत कृत्रिम बुद्धिमत्ता आधारित तस्बिर निर्माण प्रणाली ‘नानो बनाना-२’ सार्वजनिक गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईले यसलाई गुगलको अहिलेसम्मकै उत्कृष्ट तस्बिर निर्माण प्रणाली भएको बताएका छन् ।

नयाँ प्रणालीले प्रयोगकर्ताले लेखेका शब्दकै आधारमा उच्च गुणस्तरका चार हजार गुणस्तर (४के) तस्बिर तुरुन्त तयार गर्न सक्ने क्षमता राख्छ । गुगल खोज प्रणालीसँग जोडिएकाले यसले वास्तविक समयको जानकारी प्रयोग गरी अझ यथार्थ देखिने तस्बिर बनाउन सक्ने जनाइएको छ ।

यस प्रविधिको विशेषता भनेको पुराना तस्बिरलाई नयाँ स्वरूप दिन सक्नु हो । प्रयोगकर्ताले आफ्नो अनुहार जस्ताको तस्तै राखेर कपडा, कपालको शैली वा पृष्ठभूमि मात्र सजिलै परिवर्तन गर्न सक्छन् । यसले तस्बिर सम्पादन गर्दा अनुहारको समानता जोगाइ राख्ने सुविधा प्रदान गर्छ ।

शैक्षिक क्षेत्रमा पनि यो प्रणाली उपयोगी हुने बताइएको छ । विद्यार्थीहरूले विद्यालयका परियोजना वा अध्ययन सामग्रीका लागि आवश्यक चित्र, चार्ट तथा जानकारीमूलक तस्बिर आफ्नै भाषामा तयार गर्न सक्नेछन् । जटिल विषयका चित्रसमेत स्पष्ट विवरणसहित बनाइदिन सक्ने क्षमता यसमा रहेको जनाइएको छ ।

सानो व्यवसाय सञ्चालन गर्नेहरूका लागि समेत यो प्रणाली उपयोगी हुने अपेक्षा गरिएको छ । उत्पादनका तस्बिरलाई आकर्षक पृष्ठभूमिमा राख्ने, छुट वा सूचना थप्ने जस्ता डिजाइनसम्बन्धी काम अब छिटो र सजिलो रूपमा गर्न सकिनेछ । सामाजिक सञ्जालका लागि फरक शैलीका चित्र, स्टिकर तथा प्रोफाइल तस्बिर पनि केही सेकेन्डमै बनाउन सकिने कम्पनीले जनाएको छ ।

गुगलले यस प्रणालीलाई आफ्नो विभिन्न सेवासँग क्रमशः जोड्ने तयारी गरेको छ, जसबाट तस्बिर निर्माण र सम्पादन कार्य सर्वसाधारण प्रयोगकर्ताका लागि अझ सहज हुने विश्वास गरिएको छ ।

गुगलले सन् २०२५ अगस्टमा पहिलो पटक ‘नानो बनाना’ नामक तस्बिर निर्माण प्रणाली सार्वजनिक गरेको थियो । त्यसपछि उन्नत संस्करण ल्याइएपछि अहिले ‘नानो बनाना २’ मार्फत गति र क्षमतालाई थप सुधार गरिएको कम्पनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्