×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

अर्थ/वाणिज्य

बाढीका कारण ७४८ मेगावाट क्षमताका १३ विद्युत् आयोजनामा असर

बाढीका कारण ७४८ मेगावाट क्षमताका १३ विद्युत् आयोजनामा असर

काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण सञ्चालनमा रहेका तथा निर्माणाधीन गरी १३ विद्युत् आयोजना प्रभावित भएका छन् । प्रारम्भिक विवरणअनुसार बाढीबाट प्रभावित आयोजनामध्ये ८ वटा सञ्चालनमा रहेका छन् भने ५ वटा निर्माणाधीन अवस्थाका हुन् ।

नेपाल विद्युत् प्राधिकरणको प्रारम्भिक विवरणअनुसार बाढीका कारण असर परेकामा सञ्चालनमै रहेका ३५४ मेगावाट क्षमताका ८ वटा आयोजना छन् । त्यस्तै ३९४ मेगावाट क्षमताका ५ वटा निर्माणाधीन आयोजना प्रभावित बनेका छन् । यसरी बाढीबाट प्रभावित आयोजनाको कुल क्षमता ७४८ मेगावाट रहेको छ ।

रसुवा जिल्लामा मात्रै सञ्चालनमा रहेका प्रमुख जलविद्युत् आयोजनामा २१६ मेगावाटको माथिल्लो त्रिशूली-१,  १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना, रसुवा- भोटेकोशी १२० मेगावाट, माथिल्लो मेलुङ-ए ६।४२ मेगावाट, सान्जेन खोला ७८ मेगावाट, लाङटाङ खोला २० मेगावाट र चिलिमे २२ मेगावाट क्षमताका जलविद्युत् आयोजना बाढीका कारण प्रभावित भएका छन् ।

बाढीको प्रभाव रसुवासँगै छिमेकी नुवाकोटका जलविद्युत् आयोजनामा समेत परेको छ । नुवाकोटमा सञ्चालनमा रहेका प्रमुख आयोजनामा त्रिशूली जलविद्युत् आयोजना २४ मेगावाट, देवीघाट जलविद्युत् आयोजना १४.१ मेगावाट, माथिल्लो त्रिशूली-३ ए ६० मेगावाट, माथिल्लो त्रिशूली ३ बी ३७ मेगावाट, मिडल त्रिशुली गंगा १५.६ मेगावाट र २५ मेगावाटको सोलार आयोजना रहेका छन् । विवरणअनुसार नुवाकोटमा सञ्चालनमा रहेका ४ आयोजनाको कुल क्षमता १२३ मेगावाट छ ।

नुवाकोटमा माथिल्लो त्रिशूली ३ बी ३७ मेगावाट र मिडल त्रिशूली गंगा १५.६ मेगावाट आयोजना निर्माणाधीन अवस्थाका हुन् । यी दुई आयोजनाको कुल क्षमता ५२.६ मेगावाट रहेको छ ।

प्राधिकरणको यो विवरण प्रारम्भिक भएकाले बाढीबाट आयोजनाका बाँध, विद्युतगृह, पहुँचमार्ग, प्रसारण संरचना तथा अन्य पूर्वाधारमा भएको वास्तविक क्षतिको विस्तृत विवरण स्थलगत अध्ययनपछि मात्रै यकिन हुनेछ ।

 

प्रतिकृया दिनुहोस्