×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

३३ किलो सुन तस्करी प्रकरण : ‘गोरे’लाई थप दश वर्ष जेल सजाय

३३ किलो सुन तस्करी प्रकरण : ‘गोरे’लाई थप दश वर्ष जेल सजाय

काठमाडौँ । ३३ किलो सुन तस्करी प्रकरण तथा सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले थप १० वर्ष जेल सजाय हुने फैसला गरेको छ । जिल्ला अदालत मोरङबाट जन्मकैद सजाय पाएर कारागारमा रहेका गोरे भनिने चूडामणि उप्रेतीलाई उच्च अदालत विराटनगरका न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजलासले सनम शाक्यको हत्या कसुरमा थप दश वर्ष कैद सजाय थप गर्ने आदेश गरेको हो ।  

मोरङ जिल्ला अदालतका तत्कालीन न्यायाधीश भरत लम्सालले सुन तस्करीको प्रमाण नपुगेको ठहर गर्दै सनम शाक्यको हत्यामा मात्र ८ जनालाई कैद सजाय हुने फैसला सुनाएको थियो । तस्करी गरेर ल्याएको सुन ‘गायव’ बनाएको आरोपमा  ‘गोरे’ को समूहले यातना दिएर मोरङमा सनम शाक्यको हत्या गरेको थियो ।

२०७४ फागुन १८ मा मोरङको उर्लाबारीमा सनमको हत्या गरेको आरोपमा अदालतले ‘गोरे’ सहित ६ जनालाई जन्मकैदको सजाय गरेको छ । जन्मकैदको सजाय पाउनेमा चूडामणि उप्रेती ‘गोरे’, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी छन् । शाक्यको हत्या अभियोगमा राजन कुमारलाई ३ वर्ष र माधव भन्ने मदन प्रसाद घिमिरेलाई ६ महिना कैद सजाय हुने फैसला गरिएको थियो ।

उच्च अदालत विराटनगरले अभियुक्तहरू नरेन्द्र कार्की, मोहन काफ्ले र भोजराज भण्डारीको हकमा सजाय १० वर्ष घटाएर १० वर्ष मात्रै कायम गरेको छ । उक्त कर्तव्य ज्यान मुद्दामा मतियारका रूपमा संलग्न रहेका अभियुक्त मदन सिलवाललाई जिल्लाको फैसला उल्ट्याउँदै तीन वर्ष मात्रै कैद सजाय सुनाएको छ । अभियुक्तहरू लाक्पा शेर्पा र भविन तामाङको हकमा भने जिल्ला अदालतकै फैसला सदर गरेको छ ।

के थियो घटना ?
फ्लाई दुबईको विमानबाट चूडामणि उप्रेती ‘गोरे’को समूहले तस्करी गरेर ल्याएको ३३ किलो सुन त्रिभुवन विमानस्थलको गोल्डेन गेटबाट बाहिरिएको बताइएको छ । तर, सुन बिचमै हरायो । २०७४ फागुनमा काठमाडौँको रत्नराज्य स्कुल नजिकबाट सुन लुटिएको तस्कर समूहलाई भरियाले ‘रिपोर्ट’ गरेका थए । भरियामध्येका थाई एयरवेजका वरिष्ठ टेक्निसियन सानु वनले २०७४ माघ २२ मा विमानस्थलमा गुड्दै गरेको ट्याङ्करको चक्कामा ठोक्किएर आत्महत्या गरे ।

त्यसअघि हराएको भनिएको सुन बाहिर निकाल्न भन्दै चूडामणि उप्रेती ‘गोरे’को समूहले मोरङ उर्लाबारीका सनम शाक्यलाई यातना दिए । धरान र मोरङको जङ्गलमा चरम यातनाबाट शाक्यको मृत्यु भयो । यातनाबाट शाक्यको मृत्यु भएको सूचना तस्कर समूहका ‘गोरे’ले अपराध महाशाखाका सई बालकृष्ण सन्जेललाई दिए । महानगरीय अपराध महाशाखाका डीएसपी प्रजित केसीसहितका काठमाडौँबाट पूर्व गए ।

धरानबाट सनमको शव बरामद गरेर डुलाउँदै विराटनगर लगे । शव भेटिएको घटनास्थल परिवर्तन गर्न आदेश गरेको भन्दै समितिले महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनीको भूमिकामाथि प्रश्न उठायो । त्यसैले लोहनी पनि विवादमा तानिए ।

सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले करिब ३ महिना लामो अनुसन्धान गरे पनि ३३ किलो सुन फेला परेन । जबकि डिल्लीबजारस्थित सिल्भर सिटी अपार्टमेन्टका मालिक समेत रहेका विमल पोद्धार, राप्रपा ९प्रजातान्त्रिक० का नेता भुजुङ गुरुङ र मोहन अग्रवाल समेतलाई अनुसन्धान गरेर समितिले सुन तस्करीमा संलग्न ठुला माछा किटान गरेको थियो ।

गोरेले तस्करी गरेर ल्याएको करिब ७५ प्रतिशत सुन मोहन अग्रवालले खरिद गर्ने गरेको बताइएको थियो । त्यस्तै पोद्धारले लामो समयदेखि तस्करीको सुन जनकपुर हुँदै भारत पठाउने गरेको समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको थियो । काठमाडौँको रत्नराज्य स्कुल नजिकबाट लुटिएको भनिएको सुन २०७५ पुसमा भारतको कोलकतामा त भेटिएको दाबी गरियो । तर, सो सुन नेपाल ल्याउन पहल गरिएन ।

भारतीय डीआरआई (राजस्व अनुसन्धान विभाग) ले ७ डिसेम्बर २०१८ मा दिल्ली–कोलकाता हाइवे स्थित दानकुनी टोल प्लाजामा ३३ किलो सुन बरामद गरेको थियो ।  मारुती स्विफ्ट कार सर्च गर्दा फेला परेको सुन सहित दुई जना नेपालीलाई पक्राउ गरिएको कलकत्तास्थित महावाणिज्य दूतलाई भारतले पत्र पठाएको थियो ।

प्रतिकृया दिनुहोस्