काठमाडौं । विश्वका विभिन्न भागमा युवाहरूले आ-आफ्नो सरकारविरुद्ध सडकमा उत्रिने क्रम जारी छ। बंगलादेश, नेपाल, पेरु, मडागास्कर पछि अब मोरक्कोमा पनि विरोध प्रदर्शन र हिंसात्मक प्रदर्शन देखिएको छ।
मोरक्कोमा सरकार विरोधी प्रदर्शनकारीहरू बुधबार लगातार पाँचौँ रात सडकमा उत्रिएका छन्। विरोध प्रदर्शनमा हिंसा र तोडफोड भएपछि सुरक्षा बलहरूले बल प्रयोग गरेका छन् र सयौँको संख्यामा गिरफ्तारी गरिएको छ।
यो प्रदर्शनको सुरुवात सन् २०३० को विश्वकप तयारीमा सरकारले गरेको अत्यधिक खर्चको विरोधका रूपमा भएको थियो । यसले अहिले देशव्यापी रूप लिइसकेको छ।
समाचार संस्था एपीका अनुसार, मुस्लिम बाहुल्य देश मोरक्कोमा विरोध प्रदर्शनको नेतृत्व कुनै ठूलो नेता वा संगठनले गरिरहेको छैन। इन्टरनेट मार्फत युवाहरूले यसलाई अगाडि बढाएका छन्, त्यसैले यसलाई मोरक्कोको जेनजी प्रदर्शन भनिएको छ।
यो मोरक्कोमा पछिल्ला केही वर्षहरूमा भएका सबैभन्दा ठूला प्रदर्शनहरूमध्ये एक बनेको छ। प्रहरी अधिकारीहरूको व्यापक प्रयासका बाबजुद पनि सबै प्रमुख सहरहरूमा ठूलो संख्यामा मानिसहरू सडकमा उत्रिएका छन्।
भ्रष्टाचार विरुद्ध आक्रोश
मोरक्कोको जेनजी विरोध प्रदर्शनमा भाग लिने युवाहरू देशमा व्याप्त भ्रष्टाचारविरुद्ध आक्रोशित छन्। प्रदर्शनकारीहरूले विशेष गरी सन् २०३० को विश्वकप तयारीका लागि अरबौँ डलर खर्च गरिएकोमा प्रश्न उठाएका छन्।
युवाहरूले विद्यालय र अस्पतालहरूसँग पर्याप्त बजेट नरहेको अवस्थामा सरकार फिफा ९विश्वकप० को तयारीमा अरबौँ डलर खर्च गरिरहेको भन्दै रूष्ट बनेका हुन् ।
बढ्दो महँगी र रोजगारीको अभाव पनि प्रदर्शनकारीका थप एजेन्डाहरू हुन् ।
मोरक्कोको राजधानी रबातमा प्रदर्शन निकै हिंसात्मक बनेको छ । यहाँ कार, बैंक र पसलहरूमा आगलागीका घटनाहरू ठूलो मात्रामा भएका छन्। आयोजकहरूले स्वास्थ्य, शिक्षा र सम्मानजनक जीवनको अधिकारलाई आफ्ना महत्वपूर्ण मागका रूपमा अगाडि सारेका छन् ।
गिरफ्तारीले बढायो आक्रोश
शनिबार विरोध प्रदर्शन सुरु भएपछि धेरै दिनसम्म सरकारले कुनै प्रतिक्रिया दिएको थिएन । तर, बुधबार मोरक्कोको गृह मन्त्रालयले स्वतःस्फूर्त प्रदर्शनमाथि दमन गरेको थियो ।
सरकारी चेतावनीमा कानुनको उल्लङ्घन गर्नेहरूसँग कठोरताका साथ व्यवहार गरिने उल्लेख छ ।
मन्त्रालयले अहिलेसम्म ४०९ जनालाई प्रहरी हिरासतमा लिइएको बताएको छ। यसका अतिरिक्त, देशव्यापी विरोध प्रदर्शनको क्रममा सुरक्षा बलका २६३ सदस्य घाइते भएका छन् र उनीहरूका १४२ वटा सवारी साधनमा क्षति पुगेको छ।
मन्त्रालयले बीस निजी कारहरू क्षतिग्रस्त भएको जानकारी दिएको छ। मोरक्कन एसोसिएसन फर ह्यूमन राइट्सले वार्ताको सट्टा ठूलो संख्यामा गिरफ्तारीले मानिसहरूको रिसलाई भड्काइरहेको बताएको छ।
‘स्टेडियम होइन, अस्पताल चाहिन्छ’
मोरक्कोका युवाहरूमा फिफा विश्वकपका लागि देशभर निर्माणाधीन नयाँ स्टेडियमहरूलाई लिएर आक्रोशित छन् ।
प्रदर्शनकारीहरूले स्टेडियम त छ, तर अस्पताल कहाँ छ भन्दै प्रश्न गरेका छन् ।
अर्कोतर्फ, यो निर्माणमा ठूलो मात्रामा भ्रष्टाचारको आरोप लगाइएको छ। विशेष गरी अगाडिरको एक सरकारी अस्पतालमा हालै आठ महिलाको मृत्यु भएको घटनाले युवाहरूको आक्रोशलाई तीव्र पारेको छ।
टिकटक र डिस्कर्ड जस्ता प्लेटफर्महरूमा सुरु भएको यस आन्दोलनलाई देशव्यापी समर्थन देखिएको छ।
(एजेन्सीहरूको सहयोगमा)