काठमाडौं । सिंगापुर प्रहरीको गोर्खा कन्टिन्जेन्टमा कार्यरत पाँच जना नेपालीलाई हुण्डी कारोबारमा संलग्नको आरोपमा जेल सजाय सुनाइएको छ ।उनीहरुमाथि १ लाखदेखि २८ लाख सिंगापुर डलर अवैध रुपमा नेपाल पठाएको अभियोगमा अदालतमा मुद्दा दर्ता भएको थियो ।
सिंगापुरको अंग्रेजी दैनिक पत्रिका द स्ट्रेट्स टाइम्सका अनुसार, जेल सजाय हुनेमा दिकबहादुर गुरुङ (३२), गंगाप्रसाद राई (४३), अशोककुमार थापा मगर (३९), मिङ्मार शर्पा (४४) र सीताराम तामाङ (४०) छन् ।
उनीहरुमध्ये दिकबहादुरलाई कम्तीमा १० लाख सिंगापुर डलर अवैध रुपमा पठाएको आरोपमा १४ हप्ता जेल सजाय भएको छ ।गंगाप्रसादलाई ६ लाख पठाएको आरोपमा १० हप्ता जेल सजाय भएको छ ।
अशोककुमारमाथि १ लाख ३ हजार र मिङ्मारमाथि ४ लाख ७२ हजार रुपैयाँ अवैध रुपमा पठाएको आरोप छ । अशोकलाई चार हप्ता र मिङ्मारलाई ७ हप्ता जेल सजाय भएको छ ।
सीताराममाथि २८ लाख ६० हजार रुपैयाँ रुपैयाँ पठाएको आरोप छ । उनीहरुलाई सिंगापुरको भुक्तानी सेवा ऐन (पीएसए) अनुसार दोषी ठहर गर्दै ५ सेप्टेम्बरमा जेल सजाय भएको द स्ट्रेट्स टाइम्सले लेखेको छ ।
पत्रिकाका अनुसार, सिंगापुर प्रहरीले पाँच जनामाथि अवैध कारोबारको आरोप लागेलगत्तै फ्रन्टलाइन ड्यूटीबाट हटाएको थियो । जेल सजाय भएलगत्तै आन्तरिक कारबाही पनि सुरु हुने सिंगापुर प्रहरी फोर्सका प्रवक्ताले बताएका छन् ।