भक्तपुर । आठ रात नौ दिनसम्म भव्य रुपमा मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा आजदेखि भक्तपुरमा सुरु भएको छ । जात्राको पहिलो दिन आज तौमढीस्थित भैरवको रथमा पूजा गर्ने स्थानीयको बिहानदेखि भीड लागेको छ ।
आज बिहानदेखि सर्वसाधारणका लागि भैरवको रथमा पूजा खुल्ला गरेर जात्राको शुभारम्भ गरिएको गुठी संस्थानले जानकारी दिएको छ ।
तान्त्रिक विधिपूर्वक गुठी कार्यालयले ल्याएको सरकारी पूजा गर्दै भैरवको रथमा भैरवनाथ र बेताल बिराजमान गराई हनुमान ढोकाबाट राजाको प्रतीकस्वरुप ल्याइएको खड्ग, तरवार र निशान राखेपछि विधिपूर्वक रथ तानेर जात्रा सुरु भएको थियो ।
जात्रा भक्तपुरका बासिन्दाले चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म बिस्काः जात्रा मनाउँदै आएका छन् । चैत २७ गते र वैशाख ५ गते भैरवको रथ तान्नु, चैत मसान्तको दिन ल्यासिंखेलमा लिङ्गो उठाउनु र वैशाख १ गते दिनभर जात्रा गरेर साँझ लिङ्गो ढाल्ने मुख्य जात्रा हुन् । सुरूमा बिस्केट जात्रा लिङ्गो उभ्याउने र ढाल्ने दिनमा मात्र मनाइन्थ्यो भने पछि मल्लकालमा यो जात्रा भैरव र भद्रकालीको रथयात्रा गरी प्रत्येक टोल टोलमा शक्तिशाली देवीदेवताको पूजा गर्दै मनाउने प्रचलन रहेको छ ।