काठमाडौं । स्वास्थ्य क्षेत्रमा ९७७ स्थायी दरबन्दी थप गर्ने प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृत भएको छ । स्वास्थ्य मन्त्री निशा महेताको सचिवालयका अनुसार ९७७ नयाँ स्थायी प्राविधिक तथा विशेषज्ञको दरबन्दी थप्ने प्रस्ताव अर्थ मन्त्रालयबाट बुधबार स्वीकृत भएको हो ।
‘स्वास्थ्य मन्त्रालयले लगेका दरबन्दीको प्रस्तावलाई बुधबार अर्थ मन्त्रालयले स्वीकृति दिएको छ,’ एक सचिवालय सदस्यले भने, ‘ अहिले स्वास्थ्यमा अति आवश्यक जनशक्तिको दरबन्दी थप गर्न लागेका हौं ।’
उक्त प्रस्ताव अब मन्त्रिपरिषद्बाट पास गर्नुपर्ने हुन्छ । स्वास्थ्य मन्त्रालयका अनुसार अब बस्ने मन्त्रिपरिषद्को निर्णयबाट दरबन्दी थप गर्ने निर्णय हुनेछ । स्वास्थ्य क्षेत्रमा तीन दशकयता दरबन्दी थप भएको थिएन । पूर्व स्वास्थ्यमन्त्रीले पटकपटक दरबन्दी थप गर्ने प्रक्रिया सरकारले अनुमति दिएको थिएन ।
स्वास्थ्य क्षेत्रका कर्मचारी संगठन र विज्ञहरूले समेत दशकौँदेखि उठाउँदै आएको स्थायी दरबन्दी विस्तारको माग अहिले पहिलो पटक ठोस निर्णयको चरणमा पुगेको हो । देशको जनसंख्या तीन करोड पुगेपनि स्थायी दरबन्दी संरचना पुरानै ढाँचामा सीमित रहँदा अस्पताल, स्वास्थ्य संस्था र विशेषज्ञ सेवामा जनशक्ति अभाव चर्किंदै थियो ।
नयाँ दरबन्दी हुँदा संघीय संरचना अनुसार स्वास्थ्य सेवा व्यवस्थापनलाई थप प्रभावकारी हुने स्वास्थ्य मन्त्रालयका अधिकारी बताउँछन् ।