×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

व्यवसायी ज्ञानेन्द्रलाल प्रधानविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउन सिफारिस

व्यवसायी ज्ञानेन्द्रलाल प्रधानविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउन सिफारिस

काठमाडौँ । व्यवसायी ज्ञानेन्द्रलाल प्रधानले  गैरकानुनी गतिविधि मार्फत २६ करोड भन्दा धेरै सम्पत्ति आर्जन गरेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा चलाउन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ समक्ष सिफारिस गरेको छ। 

सेयरको भित्री चलखेल (इन्साइडर ट्रेडिङ)मा संलग्न भएर उनले गैरकानुनी सम्पत्ति आर्जन गरी सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएपछि मुद्दा चलाउन विभागले सिफारिस गरेको हो । 

विभागले करिब एक वर्ष लगाएर गरेको अनुसन्धानमा व्यवसायी प्रधानले नेपाल हाइड्रो डेभलपर लिमिटेडको अध्यक्ष रहँदा आफ्ना परिवारको नाममा सेयर खरिदबिक्री गर्दै गैरकानुनी रूपमा रकम आर्जन गरेको देखिएको छ । 

विभागले करिब एक सय पृष्ठमा अध्ययन प्रतिवेदन तयार गरेको छ। उक्त प्रतिवेदनमा उनले  २६ करोड ३३ लाख ५६ हजार ५ सय ५७  हजार रकम गैरकानुनी रूपमा आर्जन गरेको दाबी गर्दै विभागले सोही बराबर बिगो र जरिवाना माग गर्नुपर्ने सिफारिस गरेको छ।  

विभागले यो कार्यमा संलग्न भएको भन्दै प्रधान छोरा चेतन  प्रधान, श्रीमती विमला श्रेष्ठ प्रधान र छोरी निभिता प्रधानलाई पनि प्रतिवादी बनाउन सिफारिस गरेको छ। 

दोस्रो बजारमा नेपाल हाइड्रो डेभलपरमा  पटक पटक गरी सेयर अलग भएको परिवारको नाममा हस्तान्तरण गरिएको देखिएको र त्यसबाट धितोपत्र बोर्ड  ऐन विपरीतको कार्य गर्दै सम्पत्ति शुद्धीकरणको कार्य समेत गरेको विभागको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

प्रधानले आफू अध्यक्ष रहेको कम्पनीको सेयर घरायसी नामसारी गरी तत्काल विक्री गरी इन्साइडर ट्रेडिङ गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै प्रधानको परिवारविरुद्ध जिल्ला अदालत काठमाडौँमा नेपाल धितोपत्र बोर्डले पनि  २०८० वैशाखमा मुद्दा  दायर गरेको थियो । उक्त मुद्दा हाल विचाराधीन रहेको छ।  

जिल्ला सरकारी वकिल कार्यालयमा एक दुई दिनअघि फाइल प्राप्त भएको र अहिले फाइल अध्ययन चलिरहेको छ। सेयर किनबेचको कुरा प्राविधिक भएको र सम्पत्ति शुद्धीकरण नै प्राविधिक विषय भएकाले केही अध्ययन चलिरहेको र अपुग भएका कुरा माग गरेर जिल्ला अदालतमा मुद्दा दायर गर्ने जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ। 

प्रतिकृया दिनुहोस्