×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

मौद्रिक नीतिपछि ३० अंकले झर्‍यो सेयर बजार

मौद्रिक नीतिपछि ३० अंकले झर्‍यो सेयर बजार

काठमाडौं । मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट बुधबार सेयर बजार ३० अंक घटेको छ । अघिल्लो दिन २४ अंक बढेकोमा आज ३० अंक घटेसँगै नेप्से परिसूचक २६२१ अंकमा कायम भएको छ । कारोबार रकम बढेको छ ।

अघिल्लो दिन ४ अर्ब ४० करोडको कारोबार भएकोमा आज ४ अर्ब ८२ करोडको भयो । आज दिनभरजसो बजार रातो रह्यो । २५ कम्पनीको मूल्य बढ्दा २४७ को घट्यो भने ५ को स्थिर रह्यो ।

सबैजसो समूहगत सूचक घटेका छन् । बैंकिङ १.१८, विकास बैंक १.४६, फाइनान्स १.४३, होटल तथा पर्यटन १.२९, जलविद्युत् १.७०, लगानी ०.३९, जीवन बीमा ०.८४, उत्पादन तथा प्रशोधन १.१३, माइक्रोफाइनान्स ०.८१, निर्जीवन बीमा १.०७, अन्य १.१५ तथा व्यापार ०.२१ प्रतिशत घटे ।

स्नो रिभर्सको मूल्य सबैभन्दा धेरै ४.३९ प्रतिशत बढ्यो । कर्पोरेट डेभलपमेन्ट बैंकको १३.४१, उपकार लघुवित्तको १०.६९, सानीगढ हाइड्रोको ६.३६ तथा सपोर्ट माइक्रोफाइनान्सको मूल्य ६.३२ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर, सानीगढ हाइड्रो, कालंगा हाइड्रो, सिटी होटल क्रमशः रहे ।

मौद्रिक नीतिपछि केले असर पार्‍यो ?

मौद्रिक नीति आउने दिन २४ अंक बढेको बजार मौद्रिक नीतिपछि भने त्योभन्दा धेरै ३० अंक घटेको छ । मौद्रिक नीतिमा उल्लेखित एउटा बुँदाप्रति लगानीकर्ता असन्तुष्ट देखिएका छन् । संस्थाको सबलताका आधारमा सेयर धितो कर्जा सीमा निर्धारण हुने विषयप्रति केही असन्तुष्ट बढेको एक ब्रोकर सञ्चालकले बताए ।

हाल १८० दिनको औसत मूल्य वा वर्तमान मूल्यमध्ये जुन कम हुन्छ, त्यसकै ७० प्रतिशतसम्म सेयर कर्जा उपलब्ध हुँदै आएको छ । बजारमा कतिपय कमजोर स्तरका कम्पनीको मूल्य पनि उच्च छ भने केही सबल स्तरका कम्पनीको मूल्य न्यून छ ।

यसैले आज हाइड्रोपावर समूह बढी प्रभावित भयो । सो समूह सबैभन्दा धेरै १.७० प्रतिशत घट्यो । बजारमा सूचीकृत अधिकांश जलविद्युत् कम्पनीको प्रतिसेयर नेटवर्थ १ सय रुपैयाँभन्दा कम छ ।

यो बुँदाले मात्रै नभई मौद्रिक नीति आउने बेला लगानीकर्ताको अपेक्षा उच्च रहेको तर नयाँ मौद्रिक नीति संक्षिप्त रहेकाले धेरै विषय छुटेजस्तो महसुस हुँदा पनि घटेको लगानीकर्ता सुवासचन्द्र ढुंगानाले बताए ।

अर्कोतर्फ असार मसान्तमा बैंकको किस्ता बुझाउने समय भएकाले त्यसको असर पनि देखिएको उनको भनाइ छ । आज वा भोलिसम्म सेयर बेचेर मात्रै असार मसान्तभित्र सो रकम भुक्तानी हुने भएकाले त्यसको असर परेको हुन सक्ने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्