डोल्पा । भेरी कोरिडोरअन्तर्गत जाजरकोट-डोल्पा सडक खण्डमा १४ वटा पक्की पुल निर्माणका लागि संघीय सरकारले एक अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको स्रोत सहमति दिएको छ ।
अर्थ मन्त्रालयअन्तर्गतको बजेट तथा कार्यक्रम महाशाखाले १४ वटा पुल निर्माण कार्य अघि बढाउन स्रोत सहमति दिएका करिडोर कार्यालय प्रमुख नरेशप्रसाद केशरीले जानकारी दिए ।
जाजरकोटको पासागाढदेखि डोल्पाको दुनैसम्म आवश्यक २४ पुलमध्ये निर्माण गर्न बाँकी १४ वटा पुलका लागि अहिले स्रोत सहमति प्राप्त भएको उनले बताए ।
उक्त सडक खण्डमा निर्माण कार्य सुरु भएका १० पुलमध्ये तीन वटा पुल निर्माणको जिम्मा पुल सेक्टर सुर्खेतले लिएको छ, भने ७ वटा पुल निर्माणको काम करिडोर कार्यालयले आफैं हेरिरहेको छ ।
कार्यालयले निर्माण गरिरहेका ७ पुलमध्ये तिब्ले र ठहरे पुल निर्माणको काम अन्तिम चरणमा पुगेको बताउँदै उनले बाँकी पुल निर्माणको काम सुरु भएको जानकारी दिए ।
पुल सेक्टरले हेरिरहेका तीन पुलमध्ये जाजरकोटको तल्लुबगरस्थित भेरी नदीमा पुल निर्माण भइरहेको छ । तर डोल्पाको त्रिपुराकोटस्थित छलगाड खोलामा दुईवटा पिलर मात्रै उठाएर काम रोकिएको तथा खदाङ क्षेत्रमा भने निर्माण कार्य नै सुरु नभएको करिडोर कार्यालयले जानकारी दिएको छ ।
सरकारले बाँकी १४ वटा पुल निर्माणका लागि स्रोत सहमति दिएसँगै अब योजना कार्यान्वयन तथा खरिद प्रक्रिया अघि बढ्ने करिडोर कार्यालयले जनाएको छ ।
अर्थ मन्त्रालयले स्रोत सहमति दिँदा आयोजना वा कार्यक्रम कार्यान्वयनका लागि सहमति प्राप्त भएको आर्थिक वर्षभित्र खरिद प्रक्रिया अगाडि बढाउन भनेको छ । नभए स्रोत सहमति निष्क्रिय हुने उल्लेख गरेको बताइएको छ ।
जाजरकोटदेखि डोल्पासम्म जोड्ने भेरी कोरिडोर सडक कर्णाली प्रदेशकै रणनीतिक महत्वको परियोजनाका रूपमा हेरिन्छ ।
डोल्पा २०७५ सालमा राष्ट्रिय सडक सञ्जालसँग जोडिए पनि तल्लुबगरदेखि दुनैसम्मको खण्डमा वर्षौंसम्म पुल निर्माण नहुँदा वर्षायाममा खोला तथा खोल्साका कारण यातायात सञ्चालन प्रभावित हुने गरेको छ । जसका कारण डोल्पावासीले बर्सेनि सास्ती खेप्दै आइरहेका छन् ।
यस्तै, करिडोरअन्तर्गत दुनै–मरिम–तिन्जे–धो सडक खण्डको निर्माण कार्य वर्षौंदेखि सुरु हुन नसक्दा माथिल्लो डोल्पाका स्थानीय थप समस्यामा परेका छन् । उक्त सडक निर्माणको जिम्मा अहिले नेपाली सेनालाई दिइएको छ । जिम्मेवारी पाएपछि सेनाका उच्च पदाधिकारीहरूको टोलीले सडक खण्डको स्थलगत अवलोकन समेत गरिसकेको नेपाली सेनाले जनाएको छ ।