×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

अर्थ/वाणिज्य

ह्वात्तै बढ्यो महँगी

ह्वात्तै बढ्यो महँगी

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ पहिलो महिना साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९६ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत वर्ष साउनमा यो १.६८ प्रतिशतमात्र थियो । यसले नेपालमा महँगी ह्वात्तै बढेको देखाउँछ ।

राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार महँगीको मार सबैभन्दा धेरै खाद्यान्न र यातायातमा परेको छ ।

यस अवधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घिउ तथा तेलमा १५.६२ प्रतिशत मूल्य बढेको छ । फलफूलमा १५.३९ प्रतिशत, माछा तथा मासु ८.६५, तरकारी ६.९० र मरमसलाको मूल्य ४.८० प्रतिशत वृद्धि भएको छ ।

त्यस्तै खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति समग्रमा ६.७७ प्रतिशत छ । गैरखाद्य तथा सेवा समूहको ५.५२ प्रतिशत छ । गैरखाद्यतर्फ सबैभन्दा धेरै महँगी यातायातमा १३.१७, मदिरा ७.२०, कपडा तथा जुत्ताचप्पल ५.५२ र सुर्तीजन्य पदार्थमा ४.९७ प्रतिशत छ ।

सहरभन्दा गाउँमा महँगी

तथ्यांक अनुसार सहरको तुलनामा गाउँमा महँगी बढेको छ । ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ६.१८ प्रतिशतले वृद्धि भएको छ । सहरी क्षेत्रमा ५.८८ प्रतिशत महँगी बढेको तथ्यांक छ ।

प्रदेशगत हेर्दा सबैभन्दा धेरै मधेसमा ६.९४ प्रतिशत  र सबैभन्दा कम सुदूरपश्चिममा ४.६१ प्रतिशत छ । काठमाडौं उपत्यकामा ४.८१, तराई ६.६४, पहाड ५.९५ र हिमालमा ५.१० प्रतिशतले महँगी बढेको छ ।

प्रतिकृया दिनुहोस्